Oct 29 2026 | २०८३, कार्तिक १३गते

क्षति न्यून हुने गरी शैक्षिक सत्र मिलान !

क्षति न्यून हुने गरी शैक्षिक सत्र मिलान !

  • सोमवार, चैत्र ९ २०७७

  • 1.2K
    SHARES

  • क्षति न्यून हुने गरी शैक्षिक सत्र मिलान !

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विद्यार्थीको समयमा क्षति न्यून हुने गरी शैक्षिक सत्र मिलाउने भएको छ । वार्षिक प्रणालीमा अध्ययन गर्ने विद्यार्थीले केही क्षति बेहोर्नुपरे पनि सेमेस्टर प्रणालीमा अध्ययन गर्ने विद्यार्थीले कुनै क्षति नहुने गरी शैक्षिक सत्रको व्यवस्थापन गरिने जानकारी विश्वविद्यालयले दिएको छ ।

    विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले फागुन २५ गतेबाट स्नातक तहमा विद्यार्थी भर्ना गरी शैक्षिक सत्र सुरु गरिसकिएको जानकारी दिनुभयो । हाल स्नातक तहमा भर्ना भएका विद्यार्थीको परीक्षा आगामी पुस महिनामा गर्ने विश्वविद्यालयको योजना छ । यसका साथै स्नातकोत्तर तहको नयाँ शैक्षिक सत्र वैशाख अन्तिममा गर्ने निर्णयमा विश्वविद्यालय पुगेको छ । स्नातक तह तेस्रो वर्षको परीक्षाफल निर्धारित समयमा प्रकाशित गर्न सकिएको अवस्थामा वैशाखबाट स्नातकोत्तर तहको नयाँ भर्ना सुरु गर्न सकिने उहाँको भनाइ छ ।

    स्नातक तहका अन्य वर्षका परीक्षाफल निर्धारित समयमा नै प्रकाशित हुने जनाइएको छ । स्नातक तहका पहिलो वर्षमा अध्ययन गर्ने विद्यार्थीको केही समय क्षति भए पनि त्यसलाई तीन वर्षको हाराहारीमा मिलाइने उहाँले जानकारी दिनुभयो । वार्षिक प्रणालीअन्तर्गत अध्ययन गर्ने विद्यार्थीको अनलाइन कक्षा प्रभावकारी रूपमा सञ्चालन हुन नसकेकाले विद्यार्थीको केही महिना क्षति भएको उहाँको भनाइ छ ।

    विश्वविद्यालयले फागुनमा स्नातक तहको भर्ना कार्यक्रम सुरु गर्ने निर्णयसँगै कक्षा १२ उत्तीर्ण विद्यार्थीले भर्नाका लागि केही महिना कुर्नुपर्ने स्थिति देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा जेठ महिनामा पूरा गर्ने र भदौसम्म नतिजा प्रकाशित गरिसक्ने जनाएको छ । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले भदौसम्म कक्षा १२ को नतिजा प्रकाशित गरी उनीहरूलाई स्नातक तहको अध्ययनको बाटो खुल्ने बताउनुभयो । तर विश्वविद्यालयको हालको योजनामा कुनै परिवर्तन नगरे विद्यार्थीले स्नातक तहमा भर्ना हुन केही महिना कुर्नुपर्ने अवस्था देखिएको छ ।

    भदौमा स्नातक तहको नतिजा आएका विद्यार्थी पाँच महिना कुरेपछि मात्र बल्ल भर्ना हुने पाउनेछन् । त्रिविका शिक्षाध्यक्ष भुसालले फागुनलाई शैक्षिक सत्र मानिए पनि नयाँ परिस्थिति विकास भएमा स्नातक तहको शैक्षिक सत्र मङ्सिरमा समेत सार्न सकिने विकल्पसमेत रहेको बताउनुभयो । यसमा परिस्थितिअनुसार निर्णय लिन सकिने जनाइएको छ ।

    यो खबर आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् ।

    images
    सोमवार, चैत्र ९ २०७७०६:१८:४५
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल