Oct 28 2026 | २०८३, कार्तिक १२गते

पूर्वाञ्चल विश्वविद्यालयको १ अर्ब ९९ करोडको बजेट स्वीकृत, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता

पूर्वाञ्चल विश्वविद्यालयको १ अर्ब ९९ करोडको बजेट स्वीकृत, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता

  • 403
    SHARES

  • पूर्वाञ्चल विश्वविद्यालयको १ अर्ब ९९ करोडको बजेट स्वीकृत, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता

     

     

    काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ। विश्वविद्यालयको ४३औँ सभाले रजिस्ट्रार प्रा.डा. पन्नाबहादुर थापाद्वारा प्रस्तुत बजेट, आय–व्यय विवरण तथा नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको हो।

     

    सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा सभा बसेको थियो। विश्वविद्यालयले आगामी वर्ष शैक्षिक रूपान्तरण, प्रविधिमैत्री पूर्वाधार विकास, चिकित्सा शिक्षाको विस्तार र अनुसन्धानलाई प्राथमिकतामा राखेको छ।

     

    विश्वविद्यालयका अनुसार मोरङको गोठगाउँस्थित ८०५ बिघा जग्गामा गुरुयोजनाअनुसार एकीकृत भौतिक संरचना विकास गरिनेछ। यसका साथै कृत्रिम बुद्धिमत्ता (एआई), डाटा साइन्स र साइबर सेक्युरिटीलगायतका क्षेत्रमा नयाँ तथा विशिष्टीकृत पाठ्यक्रम तयार गरी सञ्चालन गर्ने योजना अघि सारिएको छ। चिकित्सा शिक्षा र इन्जिनियरिङतर्फ पनि विशिष्टीकृत पाठ्यक्रम विकास गरिने विश्वविद्यालयले जनाएको छ।

     

    विश्वविद्यालयका प्रशासनिक तथा शैक्षिक सेवाहरूलाई एकीकृत डिजिटल प्रणालीमार्फत सञ्चालन गरी सेवा प्रवाहलाई सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्य राखिएको छ।

     

    १०० शय्याको मातृ–शिशु अस्पताल निर्माण सम्पन्न गरिने

     

    चिकित्सा शिक्षाको पूर्वाधार विस्तारअन्तर्गत गोठगाउँ परिसरमा निर्माणाधीन १०० शय्याको मातृ–शिशु अस्पताल निर्माण सम्पन्न गर्ने योजना विश्वविद्यालयले अघि सारेको छ। साथै, कोशी अस्पतालसँगको सहकार्यमा चिकित्सा शिक्षाको गुणस्तर सुधार तथा सुदृढीकरण गरिनेछ।

     

    सभालाई सम्बोधन गर्दै शिक्षामन्त्री पोखरेलले बदलिँदो प्रविधि र विश्वव्यापीकरणको मागअनुसार उच्च शिक्षामा रूपान्तरण आवश्यक रहेको बताए। विश्वविद्यालयले विद्यार्थीलाई रोजगारी खोज्ने जनशक्तिमा मात्र सीमित नराखी रोजगारी सिर्जना गर्न सक्ने उद्यमशील जनशक्तिका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए।

     

    उनले पारित नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्पष्ट कार्ययोजना, जिम्मेवारी र समयसीमा निर्धारण गर्न निर्देशन दिए।

     

    शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलले बजेटको प्रभावकारी कार्यान्वयन गर्दै शैक्षिक प्रणाली सुधारमा केन्द्रित हुनुपर्ने बताए। अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले विश्वविद्यालयले प्रस्तुत गरेको बजेट तथा नीति कार्यक्रम सकारात्मक रहेको धारणा व्यक्त गरे।

     

    अनुसन्धान, अन्तर्राष्ट्रिय सहकार्य र छात्रवृत्तिमा जोड

     

    विश्वविद्यालयले जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरणसम्बन्धी विशेष अनुसन्धान केन्द्र स्थापना गर्ने कार्यक्रम अघि सारेको छ। त्यस्तै, विदेशी विश्वविद्यालयसँग संयुक्त डिग्री तथा विद्यार्थी आदान–प्रदान कार्यक्रम सञ्चालन गर्ने र पछाडि परेका वर्गका विद्यार्थीका लागि समावेशी छात्रवृत्तिको पहुँच विस्तार गर्ने लक्ष्य राखिएको छ।

     

    सभाले कार्यकारी परिषद्का लागि तीन वर्षको कार्यकाल रहने गरी तीन जनालाई मनोनयन गर्ने निर्णयसमेत गरेको छ। डीनबाट चिकित्साशास्त्र संकायकी डीन प्रा.डा. परिचा उपाध्याय ढुंगेल तथा कला, कानून तथा शिक्षाशास्त्र संकायका डीन प्रा.डा. कृष्णप्रसाद पाण्डे मनोनीत भएका छन्। शिक्षकबाट पू.वि. स्कुल अफ म्यानेजमेन्ट, विराटनगरमा कार्यरत प्राध्यापक मोहनबहादुर बस्नेत मनोनीत भएका छन्।

     

    सभामा शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झा, विभिन्न विश्वविद्यालयका उपकुलपति तथा शिक्षा मन्त्रालयका उच्च अधिकारीलगायतको उपस्थिति थियो।

     

    पारित बजेट तथा नीति कार्यक्रममार्फत पूर्वाञ्चल विश्वविद्यालयलाई गुणस्तरीय, प्रतिस्पर्धी, अनुसन्धानमुखी, प्रविधिमैत्री र आत्मनिर्भर शैक्षिक संस्थाका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ।

     

     

    images
    शनिवार, आश्विन २४ २०८३१०:११:२९

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल