Oct 29 2026 | २०८३, कार्तिक १३गते

स्कुल जाने उमेरमा हिउँ कुल्चदै दाउरा बेच्दै !

स्कुल जाने उमेरमा हिउँ कुल्चदै दाउरा बेच्दै !

  • सोमवार, माघ २६ २०७७

  • 1.0K
    SHARES

  • स्कुल जाने उमेरमा हिउँ कुल्चदै दाउरा बेच्दै !

    उच्च हिमाली जिल्ला हुम्लाको आसपास गाउँका अधिकांश बालबालिकाले भारी नबोकी चुलो नबल्ने अवस्था छ । बिहान–बेलुका हातमुख जोड्नका लागि भारी बोक्नैपर्ने बाध्यता यहाँका बालबालिकाको रहेको छ ।

    हातमुख जोड्न मात्र होइन, गाउँबाट सदरमुकाम सिमकोटमा दाउरा लिएर बिक्री नगरेसम्म घरखर्च पनि नचल्ने अवस्था छ । दुई दिन अगाडि परेको बाक्लो हिउँ बाटोमा जमे पनि घर खर्च चलाउनका लागि सिमकोट गाउँपालिका–७ डाँडाफयाका बालबालिका दाउरा बिक्रीका लागि सदरमुकाम सिमकोट पुगेका छन् ।

    दाउरा बिक्री नगरेसम्म बिहान बेलुका घर परिवारलाई छाक टार्नका लागि समस्या हुने गरेको ती बालबालिकाले गुनासो गरेका छन् । अन्य दिन विद्यालय गए पनि शनिबारको दिन गाउँका प्रायः बालबालिका खर्च तथा आफ्नो कापी कलम किन्नका लागि भए पनि दाउरा बोकेर बिक्री गर्न सदरमुकाम सिमकोट पुग्ने गरेका छन् ।

    गाउँबाट आफूसहित घोडा खच्चड तथा झोपामा दाउराको भारी बोकाएर सिमकोटमा बिक्री गर्न आउँदा एक भारीको रु ५०० देखि रु एक हजारसम्म पर्ने गरेको स्थानीयवासी वीरबहादुर सिंहले बताउनुभयो । हिउँदको चिसो मौसममा दाउराको माग बढी हुने भएकाले कसैले रुपैयाँमा बिक्री गर्ने गरेको र कोहीले चामलसँग दाउरा साट्ने गरेको उहाँले बताउनुभयो । सिमकोटमा गाउँबाट पुर्याएको चार भारी दाउरा (३० केजी) को एक कट्ठा चामलमा साट्ने गरेको सिंहले बताउनुभयो ।

    सिमकोटमा हिउँदको समयमा विद्युत् सेवा दैनिक १२ घण्टाभन्दा बढी अवरुद्ध हुने हुँदा दाउराको बढी प्रयोग हुने गरेको सिमकोटमा बसोबास गर्दै आएका राजबहादुर बोहराले बताउनुभयो । सदरमुकाम सिमकोटमा दाउरा बोकेर बिक्री गर्न डाँडाफया, चौगनफया गाउँका नागरिक मात्रै नभएर खार्पुनाथ गाउँपालिकाको मजा, छिप्रा, याङ्चुलगायतका गाउँबाट आउने गरेको बोहराले बताउनुभयो ।

    हिउँदको समयमा हिमपात बढी हुने र दाउरा टिप्नका लागि वनमा जान नसकिने हुँदा गाउँबाट बिक्रीका लागि ल्याइएको दाउरा किन्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । विद्युत् नियमित नहुँदा सिमकोट बजारमा दाउराको माग बढेको हो ।

    जिल्लामा गरिब तथा विपन्न बालबालिकाको जीवनस्तर माथि उठाउनका लागि बर्सेनि विभिन्न खालका अभियान, गोष्ठी, सेमिनार, तालीमजस्ता कार्यक्रममा लाखौँ रकम खर्च गरिन्छ । वास्तवमा बालबालिकासम्बन्धी नारा कागज र भाषणमै सीमित रहेको छ ।

    २६ माघ २०७७, सोमबार १५:५९ प्रकाशित

    images
    सोमवार, माघ २६ २०७७०९:०७:२६
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल