Oct 29 2026 | २०८३, कार्तिक १३गते

प्राविधिक शिक्षालयको पढाइ खुला आकाशमुनि

प्राविधिक शिक्षालयको पढाइ खुला आकाशमुनि

  • शुक्रवार, माघ १६ २०७७

  • 1.5K
    SHARES

  • प्राविधिक शिक्षालयको पढाइ खुला आकाशमुनि

    जाजरकोट, आवश्यक भौतिक पूर्वाधार नहुँदा भेरी नगरपालिका–५ काफलचौरस्थित जाजरकोट बहुप्राविधक शिक्षालय खुला आकाशमुनि सञ्चालन भएको छ । विद्यार्थी दैनिक खुला चौरमा कार्पेटमा बसेर पढ्न बाध्य भएका छन् ।    
        
    शिक्षकले कालोपाटी बाँसको खम्बामा झुण्ड्याएर पढाउने गरेका छन् । विद्यार्थी चौरमा बिछ्याइएको कार्पेटमा बसेर सिकाइ गर्छन् । वर्षात्, हावा र चर्को घाम लाग्दा शिक्षालयको पढाइ बन्द गर्नुपर्ने अवस्था छ ।    
        
    कुर्सी, बेञ्च, दराजलगायत फर्निचरसमेत छ्रैनन् । शौचालय र खानेपानीको समेत व्यवस्था नहुँदा विद्यार्थी तथा शिक्षक हैरान भएका छन् । शिक्षक र विद्यार्थी शौचालयको अभावमा जङ्गलमा गएर दिसापिसाब गर्न बाध्य भएको विद्यार्थी सरस्वती केसीले जानकारी दिनुभयो । चारकोठे भाडाको कच्ची घरमा कार्यालय तथा आवास सञ्चालन भइरहेको शिक्षालयमा गत पुसदेखि पठनपाठन शुरु भएको थियो ।    
        
    शिक्षालयमा डिप्लोमा वन विज्ञान, पशु विज्ञान र सिभिल इञ्जिनीयरिङको पढाइ सञ्चालन गर्दै आएको शिक्षालय प्रमुख दानबहादुर ठकुरीले जानकारी दिनुभयो । तीन वर्षअघि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट शिक्षालय सञ्चालनको स्वीकृति पाएको थियो । काफलचौरमा शिक्षालयको नाममा २२ रोपनी जग्गा छ ।    
        
    यस शिक्षालयको प्रथम वर्षको वन विज्ञानमा ३७, सिभिल इञ्जिनीयरिङ ४८ र पशुविज्ञानतर्फ २९ जना विद्यार्थी अध्ययन गरिरहेको प्रमुख ठकुरीले बताउनुभयो । यहाँका नेताले परिषद्बाट शिक्षालयको स्वीकृति ल्याउन जति जोड गरे तर शिक्षालयले स्वीकृति पाइसकेपछि पूर्वाधार निर्माण तथा गुणस्तरीय पठनपाठन सञ्चालन गर्नतर्फ कुनै पनि ध्यान नदिएको ठकुरीको भनाइ छ ।    
        
    भवन नहुँदा प्राविधिक शिक्षा जस्तो विषयमा कसरी पढाइ गर्ने भन्ने समस्या रहेको बताउँदै उहाँले भन्नुभयो,‘‘न ल्याब, न फर्निचर छ । पिउने पानीसमेत तीन किलोमिटर टाढाबाट बोकेर ल्याउनु पर्ने बाध्यता छ ।” पढ्ने ठाउँ नजिकै स्थानीयवासीका घर नहुँदा एक घण्टा टाढाको छिप्रेना गाउँमा बास बस्नु परेको विद्यार्थीले पीडा सुनाए । शिक्षालय खलङ्गा सदरमुकामदेखि झण्डै १२ किलोमिटर टाढा पश्चिमस्थित काफलचौरमा छ ।    

     

    images
    शुक्रवार, माघ १६ २०७७०७:३८:२२
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल