Oct 28 2026 | २०८३, कार्तिक १२गते

असोज १० गते सिड्नीमा एनभिएए भलिबल अवार्ड नाइट, ११ विधामा उत्कृष्टलाई सम्मान

असोज १० गते सिड्नीमा एनभिएए भलिबल अवार्ड नाइट, ११ विधामा उत्कृष्टलाई सम्मान

  • 328
    SHARES

  • असोज १० गते सिड्नीमा एनभिएए भलिबल अवार्ड नाइट, ११ विधामा उत्कृष्टलाई सम्मान

    सिड्नी - नेपाल भलिबल संघ अष्ट्रेलिया (एनभिएए) ले दोस्रो संस्करणको वार्षिक भलिबल अवार्ड नाइट आयोजना गर्ने भएको छ । अष्ट्रेलियामा रहेका नेपाली भलिबल खेलाडी, क्लब, प्रशिक्षक, पदाधिकारी तथा भलिबलप्रेमीको योगदानलाई सम्मान गर्ने उद्देश्यले अवार्ड नाइट आयोजना गर्न लागिएको हो ।

    संघका अनुसार अवार्ड नाइट आगामी असोज १० गते शनिबार अर्थात् २६ सेप्टेम्बर २०२६ मा सिड्नीको रकडेलस्थित रेड रोज फङ्सन सेन्टरमा हुनेछ ।

    वर्ष २०२६–२०२७ सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा क्लबसँगै नेपाली भलिबलको विकास, प्रवद्र्धन र विस्तारमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरिनेछ ।

    यसपटक ११ विधामा अवार्ड प्रदान गर्ने तयारी गरिएको संघले जनाएको छ । व्यक्तिगततर्फ सर्वोत्कृष्ट खेलाडी, पिपुल्स च्वाइस अवार्ड, उदियमान वर्ष खेलाडी, वर्ष उत्कृष्ट अनक्याप्ड खेलाडी, उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, ब्लकर र लिबेरोलगायतका विधा छन् । यी विधाका अवार्ड महिला र पुरुष दुवैतर्फ प्रदान गरिनेछन् ।

    टिम तथा प्रतियोगितातर्फ वर्ष उत्कृष्ट क्लब, उत्कृष्ट प्रतियोगिता आयोजक संस्था र वर्ष उत्कृष्ट प्रशिक्षकलाई सम्मान गरिनेछ । त्यस्तै नेपाली भलिबलमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वलाई सामुदायिक योगदान सम्मान तथा खेलकुद पत्रकारलाई मायाको चिनोसहित सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।

    यसपटकको अवार्डमा पिपुल्स च्वाइस, उदियमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट अनक्याप्ड खेलाडी नयाँ विधाका रूपमा थपिएका छन् । प्रत्येक विधामा खेलाडी तथा सम्बन्धित व्यक्तिको मनोनयन गरिनेछ । पिपुल्स च्वाइस अवार्डका लागि कार्यक्रमभन्दा एक साताअघि मनोनयन सार्वजनिक गर्ने तयारी संघको छ ।

    गत वर्ष पहिलो संस्करणमा सर्वोत्कृष्ट खेलाडी, पुरुषतर्फ उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, सर्भर र लिबेरो तथा महिलातर्फ स्पाइकर, सेटर र सर्भर विधामा अवार्ड प्रदान गरिएको थियो । वर्ष उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट टिम व्यवस्थापनसँगै दुई खेलकुद पत्रकारलाई समेत सम्मान गरिएको थियो ।

    पहिलो संस्करणमा महिलातर्फ प्रतिभा माली र पुरुषतर्फ राजेन्द्र विष्ट वर्षको सर्वोत्कृष्ट खेलाडी बनेका थिए । व्यक्तिगत विधामा सरस्वती चौधरी, मिया पुन, सन्जु पुर्जालगायतले पनि अवार्ड जितेका थिए । पुरुषतर्फ दिलबहादुर सुनार, खेम पुर्जा, अर्जुन अधिकारी, विजय आचार्य, सरोज घर्तीमगर र डोरबहादुर रानाले विभिन्न विधामा अवार्ड प्राप्त गरेका थिए ।

    अवार्ड नाइटमा पुरस्कार तथा सम्मानसँगै सांस्कृतिक प्रस्तुति, मनोरञ्जन र रात्रिभोजको समेत व्यवस्था गरिनेछ । ‘Together We Build a Stronger Volleyball Community’ भन्ने नाराका साथ आयोजना हुन लागेको कार्यक्रमलाई अष्ट्रेलियामा रहेका नेपाली भलिबल समुदायको उपलब्धि, सम्मान र एकताको विशेष अवसरका रूपमा लिइएको छ ।

    सिड्नीमा मात्रै पछिल्लो समय पुरुषतर्फ वर्षमा करिब आठ र महिलातर्फ पाँचभन्दा बढी भलिबल प्रतियोगिता आयोजना हुँदै आएका छन् । एनभिएएअन्तर्गत न्यु साउथ वेल्स (एनएसडब्लु) मा १२ भन्दा बढी क्लब दर्ता छन् । ती क्लबमा खुला पुरुष, भेट्रान्स तथा महिला टोली सहभागी छन् ।

    एनभिएएले टोलीमा ३५ वर्षमुनिका एक जना मात्र राष्ट्रिय खेलाडी राख्न पाउने व्यवस्था गरेको छ । सोही प्रावधानका कारण अधिकांश टोलीमा एक जना राष्ट्रिय खेलाडी सहभागी हुने गरेका छन् ।

    अष्ट्रेलियामा राष्ट्रिय टोलीका पूर्वकप्तान इमबहादुर रानासहित मानबहादुर श्रेष्ठ, रविन चन्द ठकुरी, टेकराज अवस्थी, विशालबहादुर विक, लोकेन्द्रराज गिरी, हेमन्तबहादुर मल्ल, सम्राट भण्डारी, राजु शेरचन, राजेन्द्र विष्ट, दिलबहादुर सुनार, सरन सामरी क्षेत्री, दुर्गाबहादुर खड्का, सफल विश्वकर्मा, दुर्गा महतो, ईश्वर थापामगर र विजय थापालगायत खेलाडी रहेका छन् ।

    त्यस्तै घरेलु भलिबलमा चर्चित धनपति कुँवर, रमेश विक र मदन साउद पनि अष्ट्रेलियामा छन् । महिलातर्फ राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीसँगै प्रतिभा माली, सरस्वती चौधरी, पुनम चन्द, कविता भट्ट, साफिया पुन मगर र मनिषा चौधरीलगायत खेलाडी अष्ट्रेलियामा रहेका छन् ।

    अवार्ड नाइटमार्फत अष्ट्रेलियामा नेपाली भलिबलको गतिविधिलाई थप व्यवस्थित र प्रोत्साहित गर्दै खेलाडी, क्लब, प्रशिक्षक तथा समग्र भलिबल समुदायलाई एउटै मञ्चमा जोड्ने एनभिएएको लक्ष्य छ ।

    images
    मंगलवार, भाद्र ३० २०८३०६:१९:२३

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल