बिहिवार, भाद्र २५ २०८३
काठमाडौँ । नेपाल भलिबल लिग (एनभीएल) को लिग चरण अन्तिम मोडमा पुगेसँगै प्लेअफको समीकरण थप रोमाञ्चक बनेको छ। प्रतियोगितामा सहभागी ६ टोलीले एक–अर्काविरुद्ध सिंगल राउन्ड रोबिनका आधारमा खेलिरहेका छन्। लिग चरणबाट शीर्ष चारमा रहने टोलीले प्लेअफमा स्थान बनाउनेछन् भने शीर्ष स्थानमा रहने टोलीले फाइनलमा सोझै प्रवेश पाउनेछ।
प्रतियोगिताको लिग चरणका अन्तिम तीन खेल बिहीबार हुँदैछन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने पहिलो खेलमा अन्नपूर्ण स्पाइकर्स किङ्स र सगरमाथा स्म्यासर्स आमनेसामने हुँदैछन्। खेल दिउँसो २ बजे सुरु हुनेछ।
अन्नपूर्णले चार खेलबाट तीन जित र एक हारसहित ९ अंक जोडेर अंकतालिकाको शीर्ष स्थानमा आफूलाई उभ्याएको छ। बिहीबारको खेल जिते अन्नपूर्णले शीर्ष स्थान सुरक्षित गर्दै सीधै फाइनलमा पुग्ने सम्भावना बलियो बनाउनेछ।
यता सगरमाथाले चार खेलबाट दुई जित र दुई हारसहित ७ अंक जोडेको छ। अंकतालिकामा चौथो स्थानमा रहेको सगरमाथाका लागि पनि अन्नपूर्णविरुद्धको खेल निकै महत्वपूर्ण छ। जित निकाल्न सके प्लेअफ यात्रा थप सुरक्षित हुनेछ।
त्यसपछि साँझ ७ बजे काठमाडौँ रेड्स र खप्तड फाल्कोन्सबीच खेल हुनेछ। काठमाडौँ चार खेलबाट तीन जित र एक हारसहित ८ अंक जोडेर तेस्रो स्थानमा छ। त्यसैले आजको खेल काठमाडौँका लागि पनि प्लेअफ समीकरणका हिसाबले महत्वपूर्ण हुनेछ।
खप्तड फाल्कोन्स भने चारवटै खेलमा पराजित हुँदै अंकतालिकाको पुछारमा पुगेको छ। यसअघि नै प्लेअफ समीकरणबाट बाहिरिसकेको खप्तडका लागि आजको खेल प्रतिष्ठाको लडाइँ हुनेछ।
लिग चरणको अन्तिम खेलमा दिउँसो ४ बजे कर्णाली शिवराज र मधेस वारियर्स भिड्नेछन्। चार खेलमा तीन जित र एक हारसहित ९ अंक जोडेको कर्णाली दोस्रो स्थानमा छ। कर्णालीले आज जित हात पारे प्लेअफमा आफ्नो सम्भावना अझ बलियो बनाउनेछ।
मधेस भने चार खेलबाट एक जित र तीन हारसहित ४ अंकमा पाँचौँ स्थानमा छ। प्लेअफ दौडबाट बाहिरिसकेको मधेसका लागि आजको खेल प्रतिष्ठाको विषय बनेको छ।
यसरी एनभीएलको लिग चरणको अन्तिम दिन शीर्ष स्थान, प्लेअफ प्रवेश र चौथो स्थानको प्रतिस्पर्धा निकै रोचक बनेको छ। प्रतियोगिताको फाइनल भदौ २८ गते हुने आयोजकले जनाएको छ। उपाधि विजेताले नगद २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल