शनिवार, बैशाख १५ २०८१
मलेखु । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– १ स्थित माध्यमिक विद्यालयरानीपौवामा अध्ययनरत दुई विद्यार्थीले चार पाङ्ग्रे विद्युत्तीय गाडी (car) निर्माण गरेका छन् । कक्षा १० मा अध्ययनरत सौरभ बसौला र सुशील अधिकारीले विद्युतीय गाडी निर्माण गरेका हुन् । २ सय किलोभन्दा बढी भार बोकेर गुड्न सक्ने गाडी दुई साता लगाएर तयार पारिएको निर्माणमा संलग्न विद्यार्थी बसौलाले बताएका हुन् । नियमित पठनपाठनका क्रममा कक्षामा शिक्षकले भनेकै आधारमा उनिहरु निरन्तर लागी परेर गाडि बनाउन सफल भएका हुन “कक्षा कोठामा विज्ञान शिक्षकले विद्युतीय गाडीको बारेमा जानकारी दिनुभयो, त्यसपछि गाडी निर्माण गर्न सकिन्छ भन्ने लाग्यो । अनि दुवै जना मिलेर गाडी बनाएका हौँ”, अर्का विद्यार्थी अधिकारीले भने, “हामीले कवाडी बनेका गाडीका पार्टपुर्जा प्रयोग गरेर गाडी निर्माण गरेका हौँ ।” केही किनेर र केही स्थानीयरुपमा प्राप्त सामग्री प्रयोग गरेर गाडी तयार गरिएको हो । गाडीको क्षमता चालकसहित तीन जना अट्ने रहेको छ । २ सय ५० वाटको दुई मोटर र १२ भोल्टको दुई ब्याट्री जडान गरिएको सो गाडीलाई एक पटक चार्ज गरेपछि तेर्सो बाटोमा दुई घण्टासम्म गुडाउन सकिन्छ । जति बढी भोल्टको ब्याट्री जडान गर्यो त्यति नै बढी भार बोक्न सकिने निर्माणमा संलग्न विद्यार्थीको दाबी छ । उनिहरु भन्छन् कुनै स्रोतबाट सहयोग प्राप्त भए अहिलेको यो पहिलो अभ्यासको भन्दा अत्याधुनिक विद्युतीय गाडी निर्माण गर्न सकिने उनीहरु बताउँछन् । बसौला र अधिकारीले विद्युतीय गाडी निर्माण गर्ने क्रममा भएको खर्च त्रिपुरासुन्दरी गाउँपालिकाले बेहोर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले विद्यार्थीको कामले प्रभावित भएको बताए । ‘अध्यक्षसँग विद्यार्थी कार्यक्रम’को बजेटबाट गाउँपालिकाको जुनसुकै विद्यालयका विद्यार्थीको क्षमता वृद्धि गर्न आवश्यक सहयोग गर्ने उनको भनाइ छ । गाउँपालिका र विद्यालयले गाडी बनाउने दुवै विद्यार्थीलाई सम्मान गरेको छ । अध्यक्ष उप्रेतीले उनीहरुलाई नगदसहित सम्मान गरेका हुन् । गाडी प्रदर्शन कार्यक्रममा पुगेका जनप्रतिनिधि, अभिभावक र शिक्षकलाई बसौला र अधिकारीले कारमा चढाएर घुमाएका थिए । गाडी बनाउनुभन्दा पहिला उनीहरुले वर्षा र बाढी आएको थाहा पाउन सकिने विद्यतीय रोबोट निर्माण गरी प्रदर्शन गरेको विद्यालयका विज्ञान शिक्षक भुवन उप्रेतीले जानकारी दिए । इच्छाशक्ति भए गाउँका स्कुलमा अध्यनरत विद्यार्थीहरुले पनि राम्रो प्रगति गर्न सक्छन् भन्ने यो ज्वलन्त उदाहरण मात्र होइन यो निर्माण जोडि एउटा प्रेरणाको स्रोत पनि हो।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल