आइतवार, चैत्र १८ २०८०
मनाङ । चैत्र १८,देशभर मध्यकै थोरै परीक्षार्थी रहेको मनाङ जिल्लामा यस वर्ष (२०८०)को माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि एउटा मात्रै परीक्षा केन्द्र तोकिएको हो । कुल चालिस जना परीक्षार्थी मात्र रहेकाले सो परीक्षा केन्द्रमा सम्पुर्ण विद्यार्थीहरुलाइ एउटै कक्षाकोठामा राखेर परीक्षा सञ्चालन गर्ने गरिएको छ । यही चैत १५ गते बिहिवारदेखि सुरु भएको परीक्षामा हालसम्म अङ्ग्रेजी र नेपाली विषयका परीक्षा सकिएका छन् । बाँकी विषयका परीक्षा पनि सोही कोठाबाटै सञ्चालन गरिने जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख मतिलाल चपाइँले जानकारी दिए । विगतका वर्षहरुमा जुन प्रकारले गर्दै आएको थियो त्यो भन्दा फरक ढङ्गले यस वर्षको एसइई सञ्चालन गरिएको उनको भनाइ छ । चपाइँका अनुसार उक्त परीक्षा केन्द्रमा उदाहरणीय पृथक विषय यो छ कि उक्त केन्द्रमा ४२ वर्षीया आमा राधा थापा क्षेत्री र १६ वर्षीय छोरा जयराम थापा क्षेत्रीले सँगै परीक्षा दिइरहेका छन् । “अहिलेसम्मका परीक्षा शान्तिपूर्ण, मर्यादित र भयरहित वातावरणमा भएको छन्”, उनले भने, “अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी आउनुभएको थियो । हामीले पालैपालो अनुगमन गर्ने गरेका छौँ । यसले विद्यार्थीमा त्रासको वातावरण पैदा गरेको छैन ।” चालीस परीक्षार्थीमध्ये एक जना परिक्षार्थी अनुपस्थित भएकाले अहिले ३९ जना परीक्षामा सहभागी भएका चपाइँले जानकारि दिए । उनका अनुसार परीक्षा केन्द्र परिसरको सुरक्षाका लागि नेपाल प्रहरीका ७ र सशस्त्र प्रहरी बलका ७ गरी १४ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । उक्त परीक्षा केन्द्रमा २३ छात्रा र १७ छात्र गरी कूल ४० विद्यार्थीले एसइईमा सहभागिता जनाउने गरी फाराम भरेकामा खुलातर्फका एक जना अनुपस्थित भएपछि ३९ परीक्षार्थीले परीक्षा दिइरहेका केन्द्राध्यक्ष श्यामकृष्ण पन्तले जानकारी दिए । उनका अनुसार प्रकाशज्योति माविबाट १९, लोकप्रिय माविबाट १७, अन्नपूर्ण माविबाट एक र लोकप्रिय माविबाट (खुला) दुई गरी ३९ जना सहभागी भएका छन् । लोकप्रिय माविमा परीक्षा केन्द्र कायम गरिएकोमा आवासीय विद्यालय भएकाले होहल्ला हुने तथा केन्द्र नजिकै पहिरो गएकाले समस्या हुनसक्ने भएपछि बालमन्दिर प्राविको हलमा परीक्षा सञ्चालन गरिएको पन्तले बताए । उनका अनुसार मनाङमा एउटै परीक्षा केन्द्र र एउटै परीक्षा हल कायम भएको हो । मर्यादित ढङ्गबाट परीक्षा सञ्चालन भएको जानकारी दिँदै उनले यस वर्षदेखि एसइई दिने विद्यालयका कोहीलाई पनि निरीक्षक तथा केन्द्राध्यक्ष नराखिएको बताए । “विगतका वर्षमा जुन परीक्षा केन्द्र हुन्थ्यो, त्यही विद्यालयका प्रधानाध्यापक केन्द्राध्यक्ष हुने र अन्य शिक्षक निरीक्षक बन्ने गरिएको थियो । यस वर्षदेखि उक्त व्यवस्थामा परिवर्तन गरेका छौँ”, केन्द्राध्यक्ष पन्तले भने, थोरै विद्यार्थी भएकाले दुई जना निरीक्षक राखेर परीक्षा सञ्चालन गरिरहेका छौँ ।” प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछाने र शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख चपाइँले अनुगमन गर्दै आएका छन् । परीक्षा हलमा कुनै पनि किसिमको तस्बिर खिच्न निषेध गरिएको हो । परिक्षा निकै नै मर्यादित र शान्तिपूर्ण बाताबरणमा अगाडी बढिरहेको र अन्तिमसम्म पनि यसैगरी लैजाने दाबि गरेका छ्न।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल