Oct 28 2026 | २०८३, कार्तिक १२गते

कक्षा ११–१२ मा शिक्षकको चरम अभाव, एक शिक्षकले ६० विद्यार्थीसम्म पढाउनुपर्ने अवस्था

कक्षा ११–१२ मा शिक्षकको चरम अभाव, एक शिक्षकले ६० विद्यार्थीसम्म पढाउनुपर्ने अवस्था

  • 331
    SHARES

  • कक्षा ११–१२ मा शिक्षकको चरम अभाव, एक शिक्षकले ६० विद्यार्थीसम्म पढाउनुपर्ने अवस्था

    काठमाडौँ । देशभरका सामुदायिक विद्यालयमा कक्षा ११ र १२ का लागि शिक्षक दरबन्दी अत्यन्तै न्यून रहेको पाइएको छ। सरकारले माध्यमिक शिक्षाअन्तर्गत कक्षा ११ र १२ लाई समेटे पनि यी कक्षाका लागि आवश्यक स्थायी शिक्षक दरबन्दी सिर्जना नगर्दा विद्यार्थीको चापअनुसार शिक्षक उपलब्ध हुन नसकेको देखिएको हो।

    शिक्षा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गरेको ‘वार्षिक प्रगति प्रतिवेदन २०८२/०८३’ अनुसार सामुदायिक विद्यालयका कक्षा ११ र १२ मा स्वीकृत दरबन्दीका आधारमा एक जना शिक्षक बराबर करिब ६० विद्यार्थी छन्। राहत, करारलगायत सबै प्रकारका शिक्षकलाई समेट्दा पनि शिक्षक–विद्यार्थी अनुपात १ः५० मात्र रहेको प्रतिवेदनमा उल्लेख छ।

    यो अनुपात विद्यालय शिक्षाका अन्य तहको तुलनामा निकै असन्तुलित देखिएको छ। शिक्षा ऐन, २०२८ को आठौँ संशोधनपछि कक्षा ११ र १२ लाई माध्यमिक शिक्षामा समेटिए पनि यी कक्षाका लागि सरकारले पर्याप्त स्थायी शिक्षक दरबन्दी सिर्जना गर्न सकेको छैन।

    शिक्षा नियमावलीले सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्याका आधारमा शिक्षक व्यवस्थापनको मापदण्ड तोकेको छ। हिमाली क्षेत्रमा एउटा कक्षामा ४०, पहाडी क्षेत्रमा ४५ तथा काठमाडौँ उपत्यका र तराई क्षेत्रमा ५० जनासम्म विद्यार्थी रहने व्यवस्था छ। तर कक्षा ११ र १२ मा यो मापदण्डभन्दा निकै बढी विद्यार्थी हुँदा पनि सोहीअनुसार शिक्षक दरबन्दी कायम हुन सकेको छैन।

    प्रतिवेदनअनुसार हिमाली क्षेत्रमा कक्षा ११ र १२ को औसत शिक्षक–विद्यार्थी अनुपात १ः५७ रहेको छ। कोशी प्रदेशका हिमाली क्षेत्रमा यो अनुपात १ः५७ र कर्णालीमा १ः५३ रहेको छ। पहाडी क्षेत्रमा औसत अनुपात १ः५१ छ। कोशीको पहाडी क्षेत्रमा १ः५५, बागमतीमा १ः५६ र लुम्बिनीमा १ः४७ विद्यार्थी बराबर एक शिक्षक रहेको देखिन्छ।

    यस्तै, महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनले उपत्यका तथा तराई क्षेत्रमा कक्षा ११ र १२ को शिक्षक–विद्यार्थी अनुपात झनै कमजोर रहेको औँल्याएको छ। उक्त क्षेत्रमा औसत अनुपात १ः७८ पुगेको छ। मधेस प्रदेशमा १ः१०८, कोशीमा १ः७८, लुम्बिनीमा १ः७९ र बागमतीमा १ः६५ रहेको प्रतिवेदनमा उल्लेख छ।

    यसले भौगोलिक क्षेत्र जुनसुकै भए पनि कक्षा ११ र १२ मा शिक्षक दरबन्दीको समस्या रहेको देखाउँछ। विशेषगरी तराई र उपत्यकाका विद्यालयमा विद्यार्थीको चाप उच्च हुँदा शिक्षक अभाव थप गम्भीर बनेको छ।

    तल्ला कक्षामा शिक्षक बढी, ११–१२ मा अभाव

    तथ्यांक विश्लेषण गर्दा तल्ला कक्षामा विद्यार्थी सङ्ख्या घट्दै गएको तर कक्षा ११ र १२ मा विद्यार्थीको चाप बढेको देखिन्छ। कक्षा १ देखि ५ सम्म विद्यार्थी सङ्ख्या तुलनात्मक रूपमा कम रहेको अवस्थामा शिक्षक–विद्यार्थी अनुपात ५० भन्दा कम छ। तर विद्यार्थीको चाप बढी हुने कक्षा ११ र १२ मा आवश्यक दरबन्दी भने पर्याप्त छैन।

    महालेखा परीक्षकले पनि यस अवस्थाले शिक्षा मन्त्रालयको शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन प्रणालीमा समस्या रहेको संकेत गरेको जनाएको छ। विद्यार्थी सङ्ख्याका आधारमा शिक्षक दरबन्दी पुनरावलोकन र आवश्यकताअनुसार पुनःव्यवस्थापन गर्नुपर्ने देखिएको छ।

    सामुदायिक विद्यालयमा असर बढी

    कक्षा ११ र १२ मा विषयगत शिक्षकको अभाव हुँदा विद्यार्थीले आवश्यक शैक्षिक मार्गदर्शन र व्यक्तिगत ध्यान पाउन कठिन भइरहेको छ। विशेषगरी विज्ञान, गणित, अंग्रेजी तथा प्राविधिक प्रकृतिका विषयमा पर्याप्त शिक्षक नहुँदा पठनपाठनको गुणस्तरमा असर पर्न सक्ने अवस्था छ।

    संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयमा विद्यार्थीको चाप र उपलब्ध शिक्षकबीचको असन्तुलन अझ बढी देखिएको छ। विद्यार्थी सङ्ख्याअनुसार शिक्षक व्यवस्थापन हुन नसक्दा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा समेत प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ।

    प्रतिवेदनअनुसार कक्षा ९ देखि १२ सम्म देशभर १६ लाख ६६ हजार ५ सय ५३ विद्यार्थी अध्ययनरत छन्। उनीहरूका लागि जम्मा ६७ हजार ८७ जना शिक्षक कार्यरत छन्।

    कक्षा ११ र १२ मा देखिएको शिक्षक अभाव समाधानका लागि दरबन्दी सिर्जना, शिक्षक पुनःमिलान तथा विद्यार्थी सङ्ख्याका आधारमा शिक्षक व्यवस्थापन गर्नुपर्ने आवश्यकता प्रतिवेदनले औँल्याएको छ।

    images
    सोमवार, आश्विन १९ २०८३१०:२९:३१

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल