शनिवार, चैत्र ३ २०८०
जिल्ला,अछाम । चर्को शुल्क असुली गरेको भन्दै अछाम स्थित जनकल्याण माविमा विद्यार्थीहरूले ताला लगाएका छन् । साँफेबगर नगरपालिका–४ मा रहेको जनकल्याण माविमा प्राविधिक धारतर्फका विद्यार्थीहरूले ताला लगाएका हुन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले तोकेको भन्दै विद्यार्थीहरु बाट अस्वाभाविक शुल्क लिएको भन्दै सिभिल इन्जिनियरिङ र जियोमेट्रिक अध्ययनरत विद्यार्थीहरूले तालाबन्दी गरेका छन् । सीटीईभीटीले अधिकतम २ लाख ३० हजार रुपैयाँ शुल्क लिन पाउनेगरी तोकेको थियो । तर, विद्यालयले भने सीटीइभीटी ले तोकेको निर्णय लाइ उल्लंघन गर्दै २ लाख ५१ हजार २०० रुपैयाँ लिँदै आएको छ । चर्को शुल्क असुली घटाउन माग गर्दा विद्यालयले आनाकानी गर्दै आएको भन्दै तालाबन्दी गरिएको अनेरास्ववियु अछाम जिल्ला कमिटी सह–सचिव मनोज रावलले जानकारी दिए । सिभिल इन्जिनियरिङ पाँचौँ सेमिस्टरमा अध्ययनरत विद्यार्थी समेत रहेका रावलले बढी शुल्कको विषयमा कुरा राख्दा विद्यालयले कुनै किसिमको मतलब नै नगरेको उनले जानकारी गराएका हुन । गत ६ महिनाभन्दा बढी समयदेखि विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैन । विद्यालयका प्रधानाध्यापक भीम बहादुर बुढाले विद्यालय व्यवस्थापन समितिले नै निर्णय गरेको र नयाँ समिति आएपछि मात्रै शुल्कबारे निर्णय गरिने बताउँदै आएका छन् । यसले विद्यार्थीमा प्रत्यक्ष नोक्सान गर्ने भएकाले विद्यार्थीहरु नयाँ ब्यबस्थापन समितिको पर्खाइमा रहन नसक्ने दाबि गरेका छ्न। विद्यालयले रु.१ लाख ८० हजार रुपैयाँ शुल्क लिने गरेको छ । त्यसमा थप १ हजार रुपैयाँ रजिष्ट्रेशन फारम शुल्क, २ हजार रुपैयाँ परीक्षा शुल्क, २ हजार रुपैयाँ आन्तरिक परीक्षा शुल्क, त्यसमा थप प्रत्येक आन्तरिक परीक्षामा प्रत्येक विद्यार्थीबाट २०० रुपैयाँ थप शुल्क लिँदै आएको छ । ल्याबको लागि १० हजार, सर्भे क्याम्पवापत ५ हजार रुपैयाँ, परिचय पत्रका लागि ३०० रुपैयाँ, किताबका लागि २६ हजार, शैक्षिक भ्रमणबापत १५ हजार रुपैयाँ शुल्क लिने गरेको रावलले बताए । विद्यार्थीहरु बाट ल्याब शुल्क असुल गर्ने तर व्यवस्थित ल्याब नभएको र ल्याबमा भएका केमिकलहरू समेत पुरै म्याद गुज्रिएका र कम्प्युटर ल्याबमा प्राय कम्प्युटरहरु बिग्रेको, विद्यार्थीहरूले सिक्नुपर्ने अटोक्याड अहिलेसम्म नसिकेको उनको भनाई छ । त्यस्तै केमिस्ट्री र फिजिक्स ल्याब दुई पटक मात्र गर्नुपर्ने भएकाले ल्याब शुल्क प्रत्येक विद्यार्थीबाट १० हजार रुपैयाँ लिने गरेको उनको भनाइ छ । सर्भे क्याम्पका लागि ५ हजार रुपैयाँ बुझाईसकेपछि प्रत्येक विद्यार्थीहरूबाट अलग शुल्क भन्दै थप ५ हजार रुपैयाँ लिने गरेको उनको भनाइ छ । त्यसरी थप शुल्क उठाउने विषयमा प्रश्न गर्दा विद्यालयलाई विद्यार्थीहरु बाट सहयोग भएको भन्दै जवाफ दिने गरेको बताए । किताब खर्चको लागि २६ हजार रुपैयाँ किन भनेर प्रश्न गर्दा विद्यालयले किताब टाढाबाट मगाउनुपर्ने जस्ता गैरजिम्मेवारी पुर्ण जवाफ दिने गरेको उनले बताए। विद्यार्थीहरु बाट शैक्षिक भ्रमणको नाममा समेत किन पैसा उठाउने गरेको भनेर प्रश्न गर्दा विद्यालयलाई सहयोग भएको भनेर जवाफ दिने गरेको उनले बताए । विद्यालयले शुल्क घटाउने विषयमा विद्यालय व्यवस्थापन समिति गठन भएपछि मात्रै निर्णय गर्न सकिने भन्दै गैरजिम्मेवार रेडिमेट जवाफ दिने उम्किने गरेको उनको बताएका छन ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल