Oct 29 2026 | २०८३, कार्तिक १३गते

एसईई आजदेखी चार लाख ८४ हजार परीक्षार्थी सहभागी

एसईई आजदेखी चार लाख ८४ हजार परीक्षार्थी सहभागी

  • 1.0K
    SHARES

  • एसईई आजदेखी चार लाख ८४ हजार परीक्षार्थी सहभागी

    आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु भएको आजको परीक्षा ११ बजे सकिनेछ ।

    यसअघि राष्ट्रिय परीक्षा बोर्डले ७७ वटै जिल्लाका सबै जिम्मेवार निकायसँग अनलाइनमार्फत बैठक सम्पन्न गरेको थियो । परीक्षा शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गराउन ७८ हजार भन्दा बढी जनशक्ति परिचालन गरिएको परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए । 

    उनका अनुसार यो वर्ष परीक्षा दिनका लागि ४ लाख ८४ हजार २२७ जनाले फाराम भरेका छन् । परीक्षाका लागि देशका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र र जापानमा एक गरी कूल दुई हजार ३७ वटा परीक्षा केन्द्र तोकिएको उनको भनाई छ । 

    प्रदेश र जिल्ला स्तरमा समितिहरू गठन गरिएका छन् । प्रदेशमा सामाजिक विकास मन्त्रालयका सचिवको अध्यक्षतामा गठन भएका प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति गठन गरिएको छ । उक्त समितिले बोर्डको निर्देशनको परिधिभित्र रहेर प्रदेश भित्रका परीक्षा सञ्चालन, व्यवस्थापन र अनुगमन गर्नेछन् ।

    त्यस्तै प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी प्रमुख, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख सदस्य सचिव, जिल्लाका सुरक्षा निकायका प्रमुखहरूलगायत रहने गरी जिल्ला परीक्षा समन्वय समिति गठन गरिएको छ । उक्त समितिले परीक्षा केन्द्रमा केन्द्राध्यक्ष नियुक्ति, सरोकारवालालाई प्रशिक्षण गर्ने, प्रश्न पत्र प्रहरी निकायसम्म पुर्याउने, उत्तर पुस्तिका परीक्षा केन्द्रसम्म पुर्‍याउने र आवश्यक समन्वय गर्ने लगायतका काम गरेका छन् । परीक्षा नियन्त्रक श्रेष्ठले परीक्षा हलभित्र कुनै पनि तस्बिर लिन नपाउने बताए । परीक्षा केन्द्रमा अत्यन्तै सीमित, आवश्यक र तोकिएका व्यक्ति परीक्षा समितिको अनुमति लिएर मात्रै अनुगमन गर्न पाइनेछ । यस पटक सञ्चारकर्मीलाई पनि परीक्षा केन्द्रका बाहिरको गतिविधिहरूको तस्बिर लिन पाइने तर, परीक्षा सुरु भएपछि परीक्षा हलभित्र गएर तस्बिर लिन नपाइने व्यवस्था गरेको उनको भनाई छ । विद्यार्थीलाई कुनै डर त्रास नलिई ढुक्क भएर परीक्षा दिन उनले आग्रह गरे । परीक्षा केन्द्रमा परीक्षामा लैजान नहुने कुनै पनि वस्तु लगेको पाइएमा र जबरजस्ती गर्न खोजेमा वा केन्द्रमा खटिएका कर्मचारीबाट कुनै गलत गतिविधि भएका प्रचलित कानुन अनुसार कारबाही हुने उनको भनाई छ । यस वर्षको परीक्षामा ५० लाख सेट प्रश्न पत्र छपाइ गरिएको छ ।

    राष्ट्रिय परीक्षा बोर्डले प्रदेशगत रूपमा फरक–फरक सेट प्रश्न पत्र छपाइ गरी सोहीअनुसार ढुवानी गरिएको हो । विद्यार्थीको अनुपातमा करिब १० प्रतिशत बढी प्रश्न पत्र छपाइ भएको बोर्डले जनाएको छ । यो वर्ष जापानमा पनि परीक्षा केन्द्र राखिएको छ ।

    नेपालबाट रोजगारीका सिलसिलामा जापान पुगेका नेपालीका १४ जना सन्तानले जापानबाटै परीक्षा दिन लागेका हुन् । जापान सरकारको अनुमतिमा नेपाली पाठ्यक्रममा अध्यापन हुने टोकियोको एक शैक्षिक संस्थाबाट जापानमा रहेका नेपाली एसइई परीक्षामा सहभागी भएको उनको भनाई छ । त्यसका लागि बोर्डले जापानमा एक परीक्षा केन्द्र निर्धारण गरेको छ । जापानमा रहेका परीक्षार्थीका लागि बोर्डले आवश्यक उत्तर पुस्तिका जापान पठाएको थियो । प्रश्न पत्र भने परीक्षा सुरु हुनु केही समय अगाडि इमेलमार्फत पठाउने छ । आजदेखि सुरु भएको परीक्षा २९ गतेसम्म सञ्चालन हुनेछ ।

    images
    शुक्रवार, चैत्र १७ २०७९०९:१७:२०

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल