मंगलवार, श्रावण ३ २०७९
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई शिक्षण संस्थालाई सुधार्न ‘हामी बनाउँछौँ, हाम्रो विद्यालय अभियान’ मा लाग्न आग्रह गरेका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार भएको भेटवार्तामा मन्त्री पौडेलले काठमाडौं महानगरपालिकाभित्र शिक्षक दरबन्दी पूरा भएको बताउँदै अब शैक्षिक गुणस्तरमा महानगरपालिकाले ध्यान दिनुपर्ने उल्लेख गरे । 'शिक्षकको कार्यसम्पादनलाई नियमित अनुगमन गरी विद्यार्थीले बुझेका छन् या छैनन्, पढ्ने वातावरण छ कि छैन् ? भनेर नियमित महानगरपालिकाले अनुगमन गर्नुप¥यो', शिक्षामन्त्री पौडेलले शाहलाई भने ।
काठमाडौं महानगरपालिकाभित्रको दरबार हाइस्कुलसहितका विद्यालयलाई नमूना विद्यालय बनाउने तयारी भएको बताउँदै विद्यालयको प्रधानाध्यापक राख्दा महानगरपालिकाले ध्यान दिनुपर्नेमा मन्त्री पौडेलले जोड दिए । 'भौतिक पूर्वाधारसँगै नमूना विद्यालय र शिक्षण सिकाइका लागि महानगरपालिकाले योजना बनाएर अघि बढ्नु प¥यो', मन्त्री पौडेलले भने, 'महानगरपालिकालाई पर्ने अप्ठ्यारोमा मन्त्रालयले साथ दिन्छ।' शिक्षकले विद्यालयमा विद्यार्थीलाई पढाएर मात्र नहुने भन्दै होम भिजिट गर्नुपर्ने मन्त्री पौडेलको भनाइ छ ।
प्रमुख शाहले महानगरपालिकाभित्र भएका ९० विद्यालयमा बिहान ६ बजेदेखि १० बजेसम्म अनुगमन गर्ने काम भइरहेको भन्दै डिजिटल बोर्डको आवश्यकता रहेको बताए । 'हामी नियमित विद्यालयमा अनुगमन गरिरहेका छौँ', साहले भने, 'सबै विद्यालयमा स्मार्ट बोर्ड र लकर सिस्टमका लागि मन्त्रालयले ५० करोड रुपैयाँ व्यवस्था गर्नुप¥यो ।' शाहले विद्यार्थीले बोक्ने किताबहरू धेरै भएकाले किताब राख्नका लागि लकर सिस्टमको व्यवस्था गर्नुपर्ने बताए ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल