बिहिवार, पौष ८ २०७८
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले १० कक्षाका विद्यार्थीले दिने माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रणाली खारेज गर्ने विषयमा सरोकारवालाहरूसँग छलफल भइरहेको बताएका छन् । सरकारले यस अगाडि नै कक्षा १२ सम्म विद्यालय तह घोषणा गरिसकेकाले एसईई गर्ने कि नगर्ने भन्ने विषयमा मन्त्रालयमा दैनिकजस्तो छलफल चलिरहेको बताए । साथै, उनले साढे १७ हजार अपुग शिक्षकलाई शिक्षक सेवा आयोगबाट पूर्ति गर्ने बताएका छन् । अहिले शिक्षक सेवा आयोगले शिक्षक पदपूर्ति गर्ने प्रक्रिया थालिसकेको छ । माध्यमिक र निम्नमाध्यमिक तहमा शिक्षक माग गरेको छ । आयोगले हालसम्म एक हजार पाँच ५४७ मावि शिक्षक र दुई हजार ५९८ निमावि शिक्षक माग गरिसकेको छ । उनले शिक्षक सेवा नियमावली मन्त्रिपरिषद्बाट पारित भइसकेको बताए । मन्त्री पौडेलले भने, ‘सरकारले माध्यमिक,निम्नमध्यामिक र प्राथमिक तहको दरबन्दीमा विज्ञापन खुल्ला गर्दैछौं । उक्त विज्ञापन शिक्षक सेवा आयोगले दिएको दरबन्दी अनुसार गर्ने हो । नियमावली नबेकाले सरकारले अगाडि बढाएका धेरै काम बाँकी छन् । त्यसैले नियमावली बनाउनको लागि पनि मन्त्रालय अगाडि बढेको छ ।’ त्यस्तै, मन्त्री पौडेलले प्रारम्भिक बालशिक्षा पढाउने शिक्षकलाई ६ हजार तलबमा काम गर्न लगाउनु अन्याय भएको भन्दै तोकेको तलब दिनुपर्ने पक्षमा सरकार रहेको बताए । सरकारले तोकेको तलब दिने मन्त्रालयले निर्णय गरेको तर, केही पालिकामा बालशिक्षा पढाउने शिक्षकको तलब कार्यान्वयन नभएको गुनासो आउने गरेको उनको भनाइ छ । सरकारले बजेटमार्फत बाल शिक्षा पढाउने शिक्षकको तलब १५ हजार रुपैयाँ तोकेको छ । जसमध्ये सरकारले ६ हजार र बाँकी स्थानीय तहले दिने उल्लेख थियो ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल