Oct 29 2026 | २०८३, कार्तिक १३गते

शिक्षक सेवा : भदौ १५ सम्म विवरण जुटाएर असोज मै बिज्ञापन गर्दै

शिक्षक सेवा : भदौ १५ सम्म विवरण जुटाएर असोज मै बिज्ञापन गर्दै

  • 4.3K
    SHARES

  • शिक्षक सेवा : भदौ १५ सम्म विवरण जुटाएर असोज मै बिज्ञापन गर्दै

    शिक्षक सेवा आयोगले शिक्षकको खुला विज्ञापनका लागि सरकारसँग पद सङ्ख्या माग गरेको छ । आयोगले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई अद्यावधिक विवरण पठाउन भनेको छ ।                                                                                                                                               

    आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले भने, “केन्द्रलाई विवरण पठाइदिन भनेका थियौँ । केन्द्रले हिजोमात्र देशभरिका शिक्षा विकास तथा समन्वय एकाइलाई रिक्त रहेका शिक्षक पद सङ्ख्या पठाउन परिपत्र गरेको छ ।” उनका अनुसार केन्द्रले एकाइलाई आगामी भदौ १० गतेभित्र सो विवरण पठाइदिन भनेको छ । “आगामी भदौ १५ गतेसम्म ती विवरण हामीले प्राप्त गरिसक्ने अपेक्षा गरेका छौँ” उनले भने, “भदौको मध्यसम्म ती विवरण आइसकेपछि विषयगत आधारमा छुट्टयाउने लगायतका तयारीका कार्य गर्नुपर्ने हुँदा आगामी असोजसम्ममा खुलाका लागि विज्ञापन आह्वान गर्ने योजना बनाएका छौँ । तर कोभिडले कति साथ दिन्छ भन्नेमा भर पर्दछ ।”                                                                                                                                                         

    आयोगका अनुसार २०७६ साल चैत मसान्तसम्ममा करिब १२ हजार रिक्त पद थिए । त्यसपछिको विवरण अद्यावधि नभए पनि करिब तीन हजार थपिएको हुनसक्ने अनुमान गरिएको छ । २०७४ सालपछि खुला विज्ञापन गरिएको छैन ।                                                                                                 

    त्यस्तै २०७६ साल चैत मसान्तसम्ममा दुई हजार सात सय शिक्षकको बढुवा गर्नुपर्ने थियो । त्यसपछि तीन सय थपिएको हुनसक्ने अनुमान आयोगको छ । आयोगका अध्यक्ष रेग्मीले खुला विज्ञापन र बढुवाको गरी करिब १८ हजारका लागि विज्ञापन आह्वान गर्नुपर्ने अवस्था रहेको बताए । उनले संविधानतः शिक्षाको तह दुई वटा (आधारभूत र माध्यमिक) भए पनि शिक्षकको तह अझै तीन थरीको भएकाले पुरानै व्यवस्थाअनुरुप प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा खुला विज्ञापन आह्वान गर्ने बताए । “शिक्षकको तह पनि दुई वटा हुनका लागि शिक्षा ऐनमा संशोधन गर्नुपर्ने हुन्छ” उनले थपे, “त्यो नहुञ्जेलसम्म तीन तहमा शिक्षक माग गरिनेछ ।” उनले स्थायी अध्यापन अनुमतिपत्रको परीक्षा पनि प्राथमिकतामा राखिएको बताउँदै त्यसका लागि छिटै विज्ञापन आह्वान गरिने बताए । उनले अध्यापन अनुमतिपत्रको परीक्षा पनि तीन वटै तहका लागि सञ्चालन गरिने स्पष्ट गरे । गत २०७७ असोजबाट आयोग रिक्त थियो । गत साता आयोगले पदाधिकारी पाएको छ ।                                                                                                                                   

    लामो समयसम्म आयोग रिक्त भएकोले अब आयोगले पदाधिकारी प्राप्त गरेको छ भन्ने जनतामा अनुभूति हुनुपर्दछ भन्दै उनले अब कामको प्राथमिकीकरणका आधारमा अगाडि बढ्ने बताए । धेरै शिक्षकहरु अध्यापन अनुमतिपत्रमा भएका त्रुटिका कारण मर्कामा परेको उल्लेख गर्दै सो सच्याउने कामलाई पनि अगाडि बढाइएको जानकारी दिए ।

    images
    बिहिवार, श्रावण २८ २०७८०९:४१:०१

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल