मंगलवार, आश्विन ६ २०८३
चीनको लान्झाउ विश्वविद्यालयस्थित प्यान-थर्ड पोल इन्भाइरन्मेन्ट सेन्टरकी नेपाली वैज्ञानिक डा. नमिता पौडेल अधिकारीले ट्रान्स-हिमालयन नदी प्रणालीमा नाइट्रोजन चक्र र प्रवाहसम्बन्धी अनुसन्धानका लागि चीनको राष्ट्रिय प्राकृतिक विज्ञान प्रतिष्ठान (NSFC) बाट अनुदान प्राप्त गरेकी छन्।
प्रोफेसर योङ्छिन लिउको नेतृत्वमा रहेको टोलीमा कार्यरत डा. अधिकारीले कोशी नदी बेसिनमा केन्द्रित एक वर्षे अनुसन्धान परियोजना नेतृत्व गर्नेछिन्। तिब्बती पठारबाट उत्पत्ति भई नेपाल हुँदै बग्ने कोशी नदीको बेसिनमा नाइट्रोजन प्रवाहको मात्रा निर्धारण गर्ने लक्ष्य यो अध्ययनको छ।
हिमनदीको पग्लने पानी र वायुमण्डलीय निक्षेपदेखि तल्लो तटीय क्षेत्रसम्मका प्रक्रियाहरू समेट्ने यो अनुसन्धान हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव बुझ्न विशेष महत्वपूर्ण मानिएको छ। पाइने नतिजाले हिमाली नदी प्रणालीमा पोषक तत्व चक्रको आधारभूत तथ्याङ्क उपलब्ध गराउने र जैव-भूरासायनिक मोडेलिङ, पारिस्थितिकीय परिवर्तन तथा जलस्रोत सुरक्षासम्बन्धी अनुसन्धानलाई सहयोग पुर्याउने अपेक्षा छ।
डा. अधिकारीले चिनियाँ विज्ञान प्रतिष्ठान (UCAS) बाट CAS-TWAS फेलोशिपमा सूक्ष्मजीवविज्ञानमा विद्यावारिधि र चिनियाँ सरकारी छात्रवृत्तिमा स्नातकोत्तर गरेकी छन्। उनका अनुसन्धानात्मक कार्यहरू Ecological Indicators, Environmental Research र Science of the Total Environment जस्ता अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित भएका छन्। यसअघि उनले कोशी नदीमा ब्याक्टेरियाको समुदाय संरचना र विविधतासम्बन्धी अध्ययन समेत गरेकी छन्।
तनहुँकी डा. अधिकारीले गण्डकी प्रदेश युवा प्रतिभा पुरस्कार (२०२४), चीनको शिक्षा मन्त्रालयको उत्कृष्ट अन्तर्राष्ट्रिय विद्यार्थी पुरस्कार (२०२०) र UCAS को उत्कृष्ट विद्यार्थी पुरस्कार (२०१९) प्राप्त गरेकी छन्। उनको अनुसन्धानले नेपाल र चीनबीच जलवायु-संवेदनशील हिमाली पारिस्थितिकी प्रणाली तथा जलस्रोतसम्बन्धी अध्ययनमा शैक्षिक सेतुको काम गरेको छ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल