Oct 28 2026 | २०८३, कार्तिक १२गते

रसुवा–नुवाकोट–धादिङमा बाढीको कहर : ५ सयभन्दा बढी विद्यार्थी बेपत्ता, ३८ विद्यालयमा क्षति

रसुवा–नुवाकोट–धादिङमा बाढीको कहर : ५ सयभन्दा बढी विद्यार्थी बेपत्ता, ३८ विद्यालयमा क्षति

  • 343
    SHARES

  • रसुवा–नुवाकोट–धादिङमा बाढीको कहर : ५ सयभन्दा बढी विद्यार्थी बेपत्ता, ३८ विद्यालयमा क्षति

    काठमाडौँ । रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण विद्यालय शिक्षा क्षेत्र नराम्ररी प्रभावित भएको छ । प्रारम्भिक विवरणअनुसार तीन जिल्लामा सयौँ विद्यार्थी बेपत्ता भएका छन् भने दर्जनौँ विद्यालय तथा सयौँ कक्षाकोठामा क्षति पुगेको छ ।

    शिक्षा विभागले तयार पारेको नेपाल शिक्षा क्लस्टरको प्रारम्भिक अद्यावधिक प्रतिवेदनअनुसार धादिङ, नुवाकोट र रसुवाका ३८ वटा विद्यालय भवन तथा २६८ वटा कक्षाकोठामा क्षति पुगेको छ । बाढी तथा पहिरोका कारण ६३ वटा शैक्षिक संस्था प्रभावित हुँदा १४ हजार ५०० भन्दा बढी बालबालिकाको सिकाइमा प्रत्यक्ष वा अप्रत्यक्ष असर परेको छ ।

    नीलकण्ठ माविका सय विद्यार्थी अझै बेपत्ता

    रसुवाको उत्तरगया गाउँपालिका–५ बोगटीटारस्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत करिब एक सय विद्यार्थी अझै सम्पर्कविहीन रहेको विद्यालयका प्रधानाध्यापक माधव लामिछानेले बताएका छन् ।

    उनका अनुसार विद्यालय सुरक्षित स्थानमा रहे पनि बाढीका बेला बस पर्खिरहेका विद्यार्थीहरू सडकबाटै बेपत्ता भएका थिए । होल्डिङ सेन्टर तथा आफन्तको घरमा खोजी गर्दा केही विद्यार्थी भेटिए पनि अहिले खोजी गर्न सकिने ठाउँ सीमित भएको उनले बताए ।

    लामिछानेका अनुसार विद्यालयमा अध्ययनरतमध्ये दुवै अभिभावक गुमाएका ५७ जना बालबालिका पहिचान भएका छन् । थप विवरण संकलन भइरहेको छ ।

    भदौ २५ गतेदेखि विद्यालय सञ्चालनमा आए पनि कतिपय विद्यार्थी नुवाकोट र रसुवाका विभिन्न होल्डिङ सेन्टरमा रहेका तथा सडक सञ्जाल अवरुद्ध भएका कारण विद्यालय फर्कन सकेका छैनन् । विद्यालयले नियमितताको अनुभूति दिलाउन खेलकुदसँगै दैनिक दुई–तीन विषयका २०–२५ मिनेटका कक्षा सञ्चालन गरिरहेको छ । विद्यार्थीलाई मनोसामाजिक परामर्शसमेत दिइरहेको विद्यालयले जनाएको छ ।

    प्रधानाध्यापक लामिछानेका अनुसार २०७२ सालको भूकम्पपछि खाल्टे र नौबिसे क्षेत्रमा विस्थापित भएर बसेका केही परिवारका घर तथा जग्गासमेत बाढीले बगाएपछि उनीहरू पूर्ण रूपमा घरबारविहीन भएका छन् ।

    नुवाकोटमा रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउन आवासीय व्यवस्थापनबाहेक तत्काल अर्को विकल्प नरहेको उनको भनाइ छ । बाढीमा विद्यालयका तीन शिक्षक र एक स्टाफ नर्स गरी चार जना पनि बेपत्ता भएका छन् ।

    विद्यालयमा तत्काल स्टेशनरी वा कपडाजस्ता राहतभन्दा कम्तीमा २०० जना विद्यार्थी अट्ने आवासीय छात्रावास, बालबालिकाको हेरचाह गर्ने कर्मचारी, खाना पकाउने जनशक्ति र त्यसको खर्च सरकारले व्यवस्थापन गर्नुपर्ने लामिछानेको माग छ ।

    हाइल्यान्ड बोर्डिङका ९ विद्यार्थी बेपत्ता

    रसुवा धुन्चेस्थित हाइल्यान्ड बोर्डिङ स्कुलका प्रधानाध्यापक निवेश श्रेष्ठका अनुसार बाढीका कारण विद्यालयको भौतिक संरचनामा ठूलो क्षति नभए पनि मानवीय क्षति गम्भीर छ ।

    विद्यालयका ९ विद्यार्थी बेपत्ता छन् भने ३२ जना अभिभावक सम्पर्कविहीन छन् । एक जना अभिभावकको शव फेला परेको र अन्यको खोजी भइरहेको विद्यालयले जनाएको छ ।

    भदौ २६ गतेदेखि विद्यालय सञ्चालनमा आएको छ । कुल ४७८ विद्यार्थीमध्ये करिब ३२० जना विद्यालय फर्किसकेका छन् । बाँकी विद्यार्थी काठमाडौं, रिबिम, गत्लाङ र थुमनलगायत स्थानमा सडक अवरुद्ध भएका कारण फसेका छन् ।

    अभिभावक गुमाएका विद्यार्थीलाई कक्षा १० सम्म निरन्तर पढाउने विषयमा विद्यालयले दीर्घकालीन योजना बनाइरहेको प्रधानाध्यापक श्रेष्ठले बताए ।

    टिमुरेको नमुना विद्यालय पूर्ण रूपमा ध्वस्त

    रसुवाको टिमुरेस्थित राष्ट्रिय आधारभूत विद्यालयको चारतले, २८ कोठे आधुनिक भवन बाढीका कारण पूर्ण रूपमा ध्वस्त भएको प्रधानाध्यापक फुर्पु घलेले बताए ।

    चीन सरकारको सहयोगमा निर्माण गरिएको उक्त विद्यालयमा विज्ञान तथा कम्प्युटर ल्याबसमेत थिए । सञ्चालनमा आएको करिब दुई वर्षमै विद्यालयको संरचना पूर्ण रूपमा नष्ट भएको हो ।

    घलेका अनुसार विपत्तिमा विद्यालयका ६ शिक्षक, २५ विद्यार्थी र १४७ जना आफन्त बेपत्ता वा सम्पर्कविहीन भएका छन् । केही विद्यार्थी मुस्ताङ र ललितपुरमा रहेका छन् भने कतिपय अझै सम्पर्कमा छैनन् ।

    विद्यालयमा कक्षा १ देखि ८ सम्म पढाइ हुँदै आएको थियो । त्यहाँ अध्ययनरत करिब ८० प्रतिशत विद्यार्थी विभिन्न जिल्लाबाट सीमावर्ती क्षेत्रमा काम गर्न आउने मौसमी मजदुरका छोराछोरी थिए ।

    विद्यालय प्रशासनले तत्काल विद्यालय सञ्चालनभन्दा पहिले सुरक्षित स्थानमा पुनर्वास, सडक तथा नाका सञ्चालन र भूगर्भीय अध्ययन आवश्यक रहेको जनाएको छ ।

    तीन जिल्लाका ३८ विद्यालयमा क्षति

    शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोटका प्रमुख सूर्यबहादुर खत्रीका अनुसार तारकेश्वर गाउँपालिकाका दुई र विदुर नगरपालिकाका आठ विद्यालय प्रभावित भएका छन् । त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा मात्रै करिब दुई अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान छ ।

    विद्यालयको कभर्डहल, सामुदायिक भवन तथा अस्थायी सिकाइ केन्द्र लेदो र पहिरोले बगाएर नष्ट गरेको छ ।

    धादिङमा पनि १० वटा विद्यालय प्रभावित भएका छन् ।

    प्रतिवेदनअनुसार रसुवाको नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरे, मालिका देवी आधारभूत विद्यालय पहिरेवेशी, चिप्लेटी आधारभूत विद्यालय सल्लेटार र मोडर्न ट्रिनिटी इङ्लिस स्कुल बेत्रावती पूर्ण रूपमा नष्ट भएका छन् ।

    नुवाकोटका ज्ञानकुञ्ज बोर्डिङ स्कुल, चण्डेश्वरी माध्यमिक विद्यालय, पायोनियर बोर्डिङ स्कुल, जेडी बोर्डिङ स्कुल, त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय, रामचन्द्र आधारभूत विद्यालय, त्रिशूली सामुदायिक बोर्डिङ स्कुल र उत्तरगया पब्लिक इङ्लिस स्कुलमा आंशिक क्षति पुगेको छ ।

    धादिङका बागेश्वरी मावि, सक्सेस एकेडेमी, जलेश्वरी मावि, अम्लेश्वर गुरुकुल संस्कृत वेदविद्याश्रमलगायत विद्यालय पनि प्रभावित भएका छन् ।

    अनाथ बालबालिकालाई छात्रावासमा राख्न सुझाव

    शिक्षा विभागको द्रुत मूल्यांकन प्रतिवेदनले बाढी प्रभावित क्षेत्रका बालबालिकाको सुरक्षा र पठनपाठन निरन्तरताका लागि सुरक्षित विद्यालयमा स्थानान्तरण गर्न सुझाव दिएको छ ।

    टिमुरे र स्याफ्रुवेशी क्षेत्रका पूर्ण रूपमा क्षतिग्रस्त विद्यालयका विद्यार्थीलाई कोमिन श्यामे वाङफेल विद्यालय, नवविजय मावि वा नीलकण्ठ माविजस्ता छात्रावास सुविधा भएका सुरक्षित विद्यालयमा स्थानान्तरण गरी पढाइ सञ्चालन गर्न सुझाव दिइएको छ ।

    अभिभावक गुमाएका बालबालिका घरेलु श्रम वा मानव तस्करीको जोखिममा पर्न सक्ने भएकाले उनीहरूको तत्काल पहिचान गरी सुरक्षित छात्रावासमा राख्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

    विद्यालय परिसरमा सञ्चालित होल्डिङ तथा राहत केन्द्रलाई पठनपाठनमा अवरोध नहुने गरी नचलेका कलेज, छात्रावास वा भाडाका भवनमा सार्न पनि सुझाव दिइएको छ ।

    त्यसैगरी प्रभावित विद्यालयमा पाठ्यपुस्तक, शैक्षिक सामग्री तथा इसिडी किट उपलब्ध गराउनुका साथै विद्यार्थी, शिक्षक र कर्मचारीलाई मनोसामाजिक परामर्शको व्यवस्था गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

    बेपत्ता विद्यार्थीको यकिन तथ्याङ्क संकलन गर्न सुझाव

    स्थानीय तह, वडा कार्यालय र शिक्षा अधिकारीको समन्वयमा बेपत्ता तथा विस्थापित विद्यार्थीको यकिन तथ्याङ्क संकलन गर्न प्रतिवेदनले सुझाव दिएको छ । शिक्षक नभएका विद्यालयमा तत्काल प्रशासनिक व्यवस्थापन गर्न तथा मानसिक आघातमा परेका शिक्षक, कर्मचारी, बालबालिका र होल्डिङ सेन्टरमा रहेकाहरूका लागि निरन्तर मनोसामाजिक परामर्शको व्यवस्था गर्न पनि भनिएको छ ।

    शिक्षा विभागका निर्देशक नीलकण्ठ ढकालका अनुसार प्रभावित क्षेत्रका विद्यार्थीलाई मनोसामाजिक परामर्श दिएपछि मात्र नियमित कक्षा सञ्चालन गर्न सम्बन्धित स्थानीय तहलाई निर्देशन दिइएको छ ।

    कहाँ कति क्षति ?

    रसुवा

    विद्यार्थी बेपत्ता : २८५ जना

    दुवै अभिभावक गुमाएका विद्यार्थी : ४० जना

    शिक्षक–कर्मचारी बेपत्ता : १६ जना

    विद्यालय क्षति : १४ वटा

    नुवाकोट

    विद्यार्थी बेपत्ता : २२७ जना

    विद्यार्थी मृत्यु पुष्टि : २ जना

    शिक्षक बेपत्ता : ११ जना

    शिक्षक–कर्मचारी मृत्यु : २ जना

    प्रभावित शैक्षिक संस्था : १० विद्यालय, १ प्राविधिक शिक्षालय, १ क्याम्पस र १ शैक्षिक तालिम केन्द्र

    धाschool-bus_vpqW9NMGcE.webpदिङ

    विद्यालय क्षति : १० वटा

    स्रोत : शिक्षा विभाग

    images
    आइतवार, आश्विन ४ २०८३०६:५१:०२

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल