Oct 28 2026 | २०८३, कार्तिक १२गते

स्याफ्रुबेँसीका ५८ विद्यार्थीलाई काठमाडौँमा अस्थायी शैक्षिक व्यवस्थापन, यातायात सहज भएपछि रसुवा फर्काइने

स्याफ्रुबेँसीका ५८ विद्यार्थीलाई काठमाडौँमा अस्थायी शैक्षिक व्यवस्थापन, यातायात सहज भएपछि रसुवा फर्काइने

  • 289
    SHARES

  • स्याफ्रुबेँसीका ५८ विद्यार्थीलाई काठमाडौँमा अस्थायी शैक्षिक व्यवस्थापन, यातायात सहज भएपछि रसुवा फर्काइने

    काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा बाढीपछि यातायात आवागमन प्रभावित हुँदा नियमित विद्यालय जान नसकेका ५८ जना विद्यार्थीलाई तत्कालका लागि काठमाडौँमा शैक्षिक वातावरण मिलाइएको छ।

    स्याफ्रुबेँसी माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका ती विद्यार्थीलाई काठमाडौँ महानगरपालिका–१५, डल्लु बिजेश्वरीस्थित गीता माता माध्यमिक विद्यालयमा तत्कालका लागि अध्ययनको व्यवस्था गरिएको हो। व्यवस्थापन गरिएका विद्यार्थीमध्ये २१ जना छात्र र ३७ जना छात्रा छन्।

    बाढीपछि विद्यार्थीहरू लामो समयसम्म आश्रयस्थलमै बस्नुपर्ने अवस्था आउन नदिन तथा उनीहरूको पढाइमा निरन्तरता कायम राख्ने उद्देश्यले विभिन्न निकायको सहकार्यमा अस्थायी रूपमा यस्तो व्यवस्था गरिएको हो।

    नयाँ शैक्षिक वातावरणमा विद्यार्थीलाई सहज रूपमा घुलमिल गराउन विद्यालय झोला, शैक्षिक सामग्री, जुत्ता, मोजा तथा भित्री पोसाकलगायत आवश्यक सामग्रीसमेत उपलब्ध गराइएको छ।

    विद्यार्थीहरूको शैक्षिक खर्चमा काठमाडौँ महानगरपालिकाले सहयोग गरेको छ। त्यस्तै, विद्यार्थीलाई आश्रयस्थलबाट गीता माता माध्यमिक विद्यालयसम्म आवतजावत गर्न एलआरआई विद्यालयले यातायात सहयोग उपलब्ध गराएको छ। विद्यार्थीको अस्थायी पुनर्स्थापना तथा अध्ययन निरन्तरताका लागि आवश्यक अन्य सहयोग करुणा फाउन्डेसन नेपालले गरिरहेको छ।

    तर, यी विद्यार्थीलाई गीता माता माध्यमिक विद्यालयमा स्थायी रूपमा भर्ना गरिएको भने होइन। उनीहरू स्याफ्रुबेँसी माध्यमिक विद्यालयकै विद्यार्थी हुन् र हालको व्यवस्था पूर्णतः अस्थायी रहेको विद्यालयले स्पष्ट पारेको छ।

    स्याफ्रुबेँसी माध्यमिक विद्यालयका प्रधानाध्यापक किशोरकुमार पुर्कोटीका अनुसार विद्यार्थीलाई काठमाडौँमा बस्दा अध्ययनबाट वञ्चित हुन नदिन र मानसिक रूपमा समेत सहज वातावरण प्रदान गर्ने उद्देश्यले तत्काल विद्यालय पठाइएको हो।

    ‘अहिले स्कुलमा भर्ना गरिएको होइन । यो समयमा भर्ना गर्न मिल्दैन पनि । हामी भर्ना गर्न चाहेका पनि होइनौँ,’ प्रधानाध्यापक पुर्कोटीले भने, ‘स्याफ्रुबेँसी माध्यमिक विद्यालयको संरचनामा बाढीले क्षति पुर्‍याएको छैन।’

    उनका अनुसार विद्यालय भवन सुरक्षित रहे पनि बाढीका कारण यातायात आवागमनमा समस्या हुँदा विद्यार्थीहरू विद्यालय पुग्न नसकेका हुन्।

    ‘भवनमा क्षति पुगेको छैन, तर यातायातको असहजताका कारण जान नसकिएको मात्रै हो,’ उनले भने, ‘यातायात सहज हुनासाथ हामी यी सबै विद्यार्थीलाई लिएर स्याफ्रुबेँसी फर्किनेछौँ।’

    विद्यालयले यातायात सेवा सहज भएपछि विद्यार्थीलाई पुनः आफ्नै विद्यालयमा फर्काएर नियमित पठनपाठन सञ्चालन गर्ने जनाएको छ। यसबीच काठमाडौँमा गरिएको अस्थायी व्यवस्थाले विद्यार्थीको पढाइसँगै उनीहरूको मानसिक तथा सामाजिक सहजतामा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    images
    बिहिवार, भाद्र २५ २०८३१२:५३:५७

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल