Oct 29 2026 | २०८३, कार्तिक १३गते

उत्कृष्ट शिक्षक छनोटमा मधेस किन छुट्यो ?

उत्कृष्ट शिक्षक छनोटमा मधेस किन छुट्यो ?

  • 280
    SHARES

  • काठमाडौं । सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइ सुधारमा योगदान पुर्‍याउने शिक्षकलाई प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष हुँदै आएको उत्कृष्ट शिक्षक छनोटमा यस वर्ष मधेस प्रदेशको प्रतिनिधित्व हुन सकेन ।

    पीपी प्रसाईं फाउण्डेशनले आयोजना गरेको उत्कृष्ट शिक्षक छनोट प्रतियोगितामा मधेसबाट पर्याप्त आवेदन नपरेपछि छनोट नै हुन नसकेको फाउण्डेशनले जनाएको छ । तोकिएको अवधिमा मधेस प्रदेशबाट जम्मा चारवटा आवेदन परेको थियो । ती आवेदनसमेत छनोटका लागि निर्धारण गरिएका न्यूनतम सूचक पूरा गर्न नसकेपछि मधेसबाट प्रतिनिधित्व नभएको छनोट समितिले जनाएको छ ।

    छनोट समितिका संयोजक धनञ्जय शर्माका अनुसार सार्वजनिक आह्वानसँगै शिक्षासँग सम्बन्धित संघ–संस्था तथा व्यक्तिगत सम्पर्कमार्फत समेत शिक्षकलाई प्रतियोगितामा सहभागी हुन आग्रह गरिएको थियो । तर, मधेसका शिक्षकबाट अपेक्षित सहभागिता हुन सकेन ।

    ‘तीन वर्षअघि पनि मधेसबाट प्रतिनिधित्व भएको थिएन, यस वर्ष फेरि उस्तै अवस्था भयो,’ शर्माले भने, ‘म योग्य शिक्षक हुँ, पुरस्कारका लागि योग्य छु भन्ने आत्ममूल्यांकन र आत्मविश्वासको कमीका कारण शिक्षकहरू प्रतिस्पर्धामा नआएको हुन सक्छ ।’

    प्रतियोगितामा विद्यार्थीको सिकाइ उपलब्धि, कक्षाकोठामा शिक्षकको दक्षता, समुदायप्रतिको जिम्मेवारी, कमजोर सिकाइ भएका विद्यार्थीको सुधारका लागि अपनाइएका उपाय, सूचना प्रविधिको प्रयोग तथा तालिमबाट प्राप्त सीपको कक्षाकोठामा प्रयोगलगायतका सूचकलाई आधार बनाइन्छ । यस वर्ष देशभरबाट ९२ वटा आवेदन परेको थियो ।

    शिक्षकले बुझाएको आवेदन विज्ञ सम्मिलित टोलीले मूल्यांकन गर्छ । आवेदनका लागि १०० अंक निर्धारण गरिएको छ । औसत अंकका आधारमा अगाडि आएका शिक्षकलाई अन्तर्वार्तामा सहभागी गराई अन्तिम छनोट गरिन्छ । अन्तर्वार्ताका लागि २५ अंक छुट्याइएको छ । आवेदन र अन्तर्वार्तासहित कुल १२५ अंकका आधारमा उत्कृष्ट शिक्षक छनोट गरिन्छ ।

    यस वर्ष कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट उत्कृष्ट शिक्षक छनोट भएका छन् । उनीहरूलाई प्रमाणपत्रसहित जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

    यस्तै, सुधारमा प्रयत्नशील विद्यालयतर्फ बैतडीको पञ्चेश्वर गाउँपालिकास्थित नागार्जुन आधारभूत विद्यालयलाई एक लाख रुपैयाँ नगदसहित पुरस्कृत गरिएको छ । विद्यालयमा अध्ययनरत १६४ विद्यार्थीमध्ये १३९ जना दलित समुदायका बालबालिका रहेको जनाइएको छ ।

    शनिबार आयोजित कार्यक्रममा प्रथम राष्ट्रपति डा. रामवरण यादवले पुरस्कार प्रदान गरे । कार्यक्रममा बोल्दै यादवले उत्कृष्ट शिक्षक छनोटमा मधेसबाट सहभागिता हुन नसकेकोप्रति चिन्ता व्यक्त गरे । कुनै समय देशभरका विद्यालयमा गणित र विज्ञान पढाउने शिक्षकमा मधेसको उल्लेख्य उपस्थिति रहेको स्मरण गर्दै उनले अहिले मधेसका शिक्षक प्रतिस्पर्धामा समेत सहभागी नहुनु चिन्ताजनक भएको बताए ।

    पीपी प्रसाईं फाउण्डेशनले सामुदायिक विद्यालयको शैक्षिक सुधारमा योगदान गर्ने शिक्षकलाई प्रोत्साहन गर्ने उद्देश्यले विगत १३ वर्षदेखि पुरस्कार प्रदान गर्दै आएको छ । फाउण्डेशनका अनुसार हालसम्म ७० भन्दा बढी शिक्षक, तीन विद्यालय र नौ जना पर्यटन व्यवसायी पुरस्कृत तथा सम्मानित भइसकेका छन् । २०८० सालदेखि शिक्षकको क्षमता अभिवृद्धिका लागि सञ्चालन गरिएको तालिमबाट करिब दुई सय शिक्षक लाभान्वित भएका छन् ।

    यसै वर्ष पर्यटनतर्फ थामसेर्कु ट्रेकिङका संस्थापक तथा अध्यक्ष लाक्पा सोनाम शेर्पालाई पीपी प्रसाईं टुरिज्म लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।

    प्रख्यात पर्यटन व्यवसायी तथा नटराज टुर्स एण्ड ट्राभल्सका संस्थापक प्रजापति प्रसाईंको स्मृतिमा उनको परिवारले फाउण्डेशन स्थापना गरेको हो । २०५६ भदौ २० गते पोखराबाट काठमाडौं फर्कने क्रममा भएको नेकोन एयरको विमान दुर्घटनामा प्रसाईंको निधन भएको थियो । PP_prasai_2083_CeGr6Eb2jn.jpg

    images
    आइतवार, भाद्र २१ २०८३०६:५८:१२

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल