Oct 29 2026 | २०८३, कार्तिक १३गते

विद्यालयमा बालबालिकामाथि कुटपिट : अनुशासन कि अपराध?

विद्यालयमा बालबालिकामाथि कुटपिट : अनुशासन कि अपराध?

  • 430
    SHARES

  • विद्यालयमा बालबालिकामाथि कुटपिट : अनुशासन कि अपराध?

    काठमाडौँ । विद्यालयलाई ज्ञान, अनुशासन र सुरक्षित वातावरणको थलो मानिन्छ। तर, त्यही विद्यालयमा कलिला बालबालिका शिक्षककै हातबाट कुटिनुपर्ने अवस्था अझै अन्त्य हुन सकेको छैन। अनुशासन कायम गर्ने नाममा विद्यार्थीमाथि हुने शारीरिक तथा मानसिक यातनाले विद्यालयभित्रको सुरक्षित वातावरणमाथि नै गम्भीर प्रश्न उठाएको छ।

    ललितपुरको धोबीघाटस्थित एक विद्यालयमा बिहानको प्रार्थना तथा राष्ट्रिय गानपछि केही विद्यार्थीलाई छुट्टै लाइनमा उभ्याइएको थियो। तीमध्ये अधिकांश साना कक्षाका विद्यार्थी थिए। केही समयपछि एक शिक्षकले विद्यार्थीलाई पालैपालो अगाडि बोलाएर सोधपुछ गर्दै चड्कन लगाएको दृश्य बाहिरबाट समेत देखिएको थियो।

    विद्यार्थीलाई कुटपिट गरिएको देखेपछि एक अभिभावक विद्यालयमै पुगेर शिक्षकसँग यसबारे आपत्ति जनाए। शिक्षकले भने विद्यार्थीले नियम र अनुशासन पालना नगरेकाले ‘नकुटी के गर्ने?’ भन्दै कुटपिटलाई नै अनुशासन कायम गर्ने माध्यमका रूपमा प्रस्तुत गरेको बताइएको छ।

    तर, अनुशासन सिकाउने नाममा बालबालिकामाथि हातपात गर्नु कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन। गृहकार्य नगरेको, पोसाक नमिलेको, जुत्ता–मोजा नलगाएको वा सामान्य गल्ती गरेको विषयमा विद्यार्थीलाई सार्वजनिक रूपमा अपमानित गर्ने र कुटपिट गर्ने प्रवृत्तिले उनीहरूको आत्मविश्वास तथा मानसिक अवस्थामा समेत नकारात्मक असर पार्न सक्छ।

    नेपालको कानुनले समेत बालबालिकामाथि शारीरिक तथा मानसिक यातना निषेध गरेको छ। शिक्षा ऐन, २०२८ तथा बालबालिकासम्बन्धी ऐन, २०७५ ले बालबालिकामाथि हुने हिंसा र यातनालाई निषेध गर्दै संरक्षणको व्यवस्था गरेको छ।

    विद्यालय बालबालिकाका लागि डरको होइन, सिकाइ र सुरक्षाको ठाउँ हुनुपर्छ। शिक्षकको जिम्मेवारी विद्यार्थीलाई भय देखाएर होइन, सम्झाएर, सिकाएर र सकारात्मक अनुशासनमार्फत जिम्मेवार नागरिक बनाउनु हो।

    त्यसैले प्रश्न केवल एउटा विद्यालय वा एउटा शिक्षकको व्यवहारमा सीमित छैन—विद्यालयमा बालबालिकामाथि हुने कुटपिट र मानसिक यातनाको अन्त्य कहिले हुन्छ? यसको जवाफ विद्यालय प्रशासन, शिक्षक, अभिभावक र सम्बन्धित सरकारी निकाय सबैले दिनुपर्ने बेला आएको छ।

    images
    शनिवार, भाद्र २० २०८३०६:३०:२६

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल