बिहिवार, भाद्र १८ २०८३
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा ऐन निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् ।
बुधबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा नेपाल शिक्षक महासङ्घका अध्यक्ष तथा प्रतिनिधिसँग भएको छलफलमा मन्त्री पोखरेलले ऐन निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् ।
छलफलमा विद्यालय शिक्षा ऐनलाई शीघ्र टुङ्गोमा पुर्याउने तथा शिक्षक महासङ्घले विगतदेखि उठाउँदै आएका विभिन्न सवाललाई दुईपक्षीय संवादमार्फत समाधान गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
विद्यालय शिक्षा तथा उच्च शिक्षा सुधारका लागि सबै सरोकारवाला जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिँदै मन्त्री पोखरेलले विद्यार्थीलाई बिदेसिनबाट रोक्न स्वदेशमै गुणस्तरीय शिक्षा र पर्याप्त अवसरको वातावरण सिर्जना गर्नुपर्ने बताए।
छलफलमा हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन आवश्यक उपायबारे समेत छलफल भएको थियो ।
मन्त्री पोखरेलले विपद्का समयमा विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न विद्यालयमा समय–समयमा विपद् व्यवस्थापनसम्बन्धी अभ्यास गराउनुपर्ने बताए ।
शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले विद्यालय शिक्षा सुधारका लागि विद्यालय शिक्षा ऐनलाई थप समृद्ध बनाएर अघि बढाउनुपर्ने बताए । शिक्षा क्षेत्रका समस्या समाधानका लागि मन्त्रालय र शिक्षक महासङ्घबिचको सहकार्यलाई थप बलियो बनाउनुपर्नेमा उनले जोड दिए ।
मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले शिक्षक महासङ्घले उठाएका विषयलाई प्रक्रियागत रूपमा संवाद र सहमतिका माध्यमबाट अघि बढाउनुपर्ने धारणा राखे ।
महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आफूहरूले उठाउँदै आएका सवाल संवादमार्फत समाधान गर्न सकिने बताए ।
विद्यालय शिक्षा ऐन शीघ्र जारी भए शिक्षक महासङ्घ सबैभन्दा खुसी हुने उल्लेख गर्दै उनले मन्त्रालयसँगको संवाद र सहकार्यबाट शिक्षा क्षेत्रका समस्या समाधान गर्न सकिने बताए ।
छलफलमा सहभागी विभिन्न शिक्षक सङ्गठनका पदाधिकारीले पनि मन्त्रालयसँगको संवाद र सहमतिका आधारमा शिक्षा क्षेत्रका समस्या समाधान गर्नुपर्ने धारणा राखेका थिए ।
छलफलमा शिक्षामन्त्री पोखरेलसहित मन्त्रालयका उच्च अधिकारी, नेपाल शिक्षक महासङ्घका अध्यक्ष सुवेदी तथा विभिन्न शिक्षक सङ्गठनका प्रतिनिधिको सहभागिता थियो
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल