मंगलवार, जेठ २६ २०८३
श्री जनसेवा संस्कृत माध्यमिक विद्यालय, पैयुँ गाउँपालिका–४ का विद्यार्थी आलोक काफ्लेले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा ४.०० जीपीए हासिल गर्दै उत्कृष्ट सफलता प्राप्त गरेका छन्। प्रारम्भिक नतिजामा उनको जीपीए ३.९६ रहेको थियो।
ऐच्छिक प्रथम (Optional I) गणित विषयको प्राप्ताङ्कप्रति चित्त नबुझेपछि उनले पुनर्योग (Retotaling) गराएका थिए। पुनर्योगपछि उक्त विषयमा A+ ग्रेड प्राप्त भएसँगै उनको अन्तिम नतिजा ४.०० जीपीए पुगेको विद्यालयले जनाएको छ।
आलोकको यो सफलता व्यक्तिगत उपलब्धिमा मात्र सीमित नभई विद्यालय, परिवार तथा समग्र स्थानीय समुदायका लागि गर्वको विषय बनेको छ। विशेषतः गत वर्ष २०८१ को SEE परीक्षामा उनकी दिदी जस्मिन काफ्लेले पनि सोही विद्यालयबाट ४.०० जीपीए हासिल गरेकी थिइन्। यसरी एउटै परिवारका दिदी–भाइले लगातार दुई वर्ष SEE मा ४.०० जीपीए प्राप्त गर्दै प्रेरणादायी इतिहास रचेका छन्।
आलोक पैयुँ गाउँपालिका–३, वेउलीवासका स्थायी बासिन्दा हुन्। उनका पिता लोकमणि काफ्ले श्री जनसेवा संस्कृत माध्यमिक विद्यालयका माध्यमिक तहका स्थायी विज्ञान शिक्षक हुन् भने माता चोभा काफ्ले पालुस्थान माध्यमिक विद्यालय, पैयुँ–३ मा अध्यापनरत छन्। छोरी जस्मिन र छोरा आलोकले लगातार दुई वर्ष SEE मा ४.०० जीपीए ल्याएर परिवार तथा विद्यालयको गौरव बढाएकोमा आफू अत्यन्त खुसी र गर्वित भएको बताउँदै आमा चोभा काफ्लेले सबै विद्यार्थीहरूको आगामी शैक्षिक यात्रा सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेकी छन्। साथै उनले यस उपलब्धिमा योगदान पुर्याउने विद्यालय परिवारप्रति आभार व्यक्त गरेकी छन्।
विद्यालयका निवर्तमान प्रधानाध्यापक तथा अंग्रेजी शिक्षक शोभाकान्त रिजालले आलोक र जस्मिनको उच्च शैक्षिक क्षमताको प्रशंसा गर्दै उनीहरूको भविष्य अझ उज्ज्वल हुनेमा विश्वास व्यक्त गरेका छन्। विद्यालयका प्रधानाध्यापक टिकाराम काफ्लेका अनुसार यस वर्ष SEE परीक्षामा सहभागी विद्यार्थीहरूमध्ये सात जनाले ३.६० भन्दा माथिको जीपीए हासिल गरेका छन्। विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि निरन्तर प्रयासरत रहने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन्।
आफ्नो सफलताको श्रेय विद्यालयका शिक्षक तथा अभिभावकलाई दिएका आलोकले आगामी दिनमा पनि अध्ययनलाई निरन्तरता दिने बताएका छन्। स्थानीयवासी, शिक्षक, अभिभावक तथा विद्यालय परिवारले उनलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल