Oct 29 2026 | २०८३, कार्तिक १३गते

आधारभूत तहको अन्तिम परीक्षा पनि केन्द्र तोकेरै सञ्चालन गरिने तयारी

आधारभूत तहको अन्तिम परीक्षा पनि केन्द्र तोकेरै सञ्चालन गरिने तयारी

  • 793
    SHARES

  • आधारभूत तहको अन्तिम परीक्षा पनि केन्द्र तोकेरै सञ्चालन गरिने तयारी

    काठमाडौं - स्थानीय तहको अधिकार क्षेत्र भित्र रहेको आधारभूत तह (कक्षा ८) को अन्तिम परीक्षाका लागि काठमाडौँ महानगरले छुट्टा छुट्टै केन्द्र तोकेर परीक्षा लिने भएको छ । यस अघि आ-आफ्नै विद्यालयमा हुने परीक्षा यस बर्ष देखि तोकिएको परीक्षा केन्द्रमा सञ्चालन गर्ने गरी महानगरले तयारी गरिरहेको छ । विषयविज्ञ लगाएर पालिकाले तयार पारेको प्रश्नपत्र अनुसार परीक्षा सञ्चालन भए पछि प्रश्नपत्र परीक्षण एवं नतिजा प्रकाशनको काम समेत पालिका आफैंले गर्ने छ । पालिका भित्र आधारभूत तहसम्म सञ्चालनमा रहेका निजी र सामुदायिक गरी पाँच सय १४ विद्यालय रहेको र ती विद्यालयहरुमा झण्डै १९ हजार हाराहारी विद्यार्थी अध्ययनरत रहेको पालिकासँग तथ्याँङ्क छ । यी सबै विद्यालयहरुका लागि एउटा केन्द्रमा औषतमा तीन सय विद्यार्थी हुने गरी ६० वटा परीक्षा केन्द्र निर्धारण गरिएको महानगरको परीक्षा शाखाले जनाएको छ । आगामी फागुन तीन गतेबाट परीक्षा हुने तय भईसकेको छ । रुटिन भने सार्वजनिक गरिएको छैन । कक्षा १० को अन्तिम परीक्षा (एसईई) को रुटिन सार्वजनिक भएपछि त्यससँगै मिलाएर रुटिन सार्वजनिक गर्ने शिक्षा शाखाका एक कर्मचारीले जानकारी दिए । ‘विद्यालय तह सम्म स्थानीय सरकार मातहत एवं आधारभूत तहको अन्तिम परीक्षा पालिकाले गर्ने व्यवस्था अनुसार यस पटकबाट केन्द्र निर्धारण गरेरै परीक्षा लिने निर्णय भएको हो’ ती कर्मचारीले भने ‘गत जेठमा बसेको नगरसभाले पारित गरेको बजेट तथा कार्यक्रममा आधारभूत तहको परीक्षा सञ्चालनको विषय पनि समेटिएको थियो ।’ पालिकाको उक्त तयारी प्रति निजी विद्यालय सञ्चालकहरुको भने आपत्ति छ । प्याब्सनका महासचिव आरबी कटुवालले परीक्षाका नाममा बालबालिका माथि भय सृजना गर्ने प्रयास गरिएको भन्दै आपत्ति जनाए । ‘कक्षा ८ मा पढ्ने भनेका ससाना बालबालिका हुन्, उनीहरुलाई अर्कै विद्यालयमा पठाउने, चिन्दै नचिनेका गार्डहरुका अघिल्तिर बसेर परीक्षा दिनु पर्ने गर्दा मानसिक रुपमा पनि क्षती हुन सक्छ’ उनले भने ‘बालबालिकाको सिकाइ पो हेर्ने हो, तर महानगरले परीक्षाका नाममा भय सृजना गरेर उपलब्धि देखाउने प्रयत्न गरेको हाम्रो ठहर छ ।’ कक्षा ८ मा पढ्ने बालबालिकाको सिकाइ स्तर मापन हुने गरी विषय विज्ञहरु लगाएर पाठ्यक्रमले तोकेको ढाँचामै प्रश्न पत्र तयार गर्ने पालिकाले जनाएको छ । यस अघि नै बाग्लुङ् नगरपालिका, बाग्लुङ्कै जैमिनी नगरपालिका, काठमाडौंको बुढानिलकण्ठ नगरपालिका सहित देशका केही पालिकाहरुले कक्षा ८ को अन्तिम परीक्षाका लागि छुट्टै केन्द्र निर्धारण गरेर सञ्चालन गर्ने अभ्यास शुरु गरिसकेका छन् । विद्यालय आफैंले परीक्षा लिने र नतिजा पनि आफैँ सार्वजनिक गर्दा आधारभूत तहको नतिजामा गुणस्तर कायम नभएको भन्दै आलोचना भईरहेको छ ।

    images
    बिहिवार, पौष ११ २०८१०६:४७:२८

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल