बिहिवार, कार्तिक २९ २०८१
काठमाडौं - विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिकामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले केही हेरफेर गर्न लागेको समाचार छ । सो निर्देशिकामा नेपालमा उच्च शिक्षा सञ्चालन गर्न विदेशका विश्वविद्यालय वल्र्ड युनिभर्सिटी ¥याकिङमा वा सञ्चालन हुने कार्यक्रम गुणस्तर सुनिश्चितता मापदण्ड (क्यूएए)को एक हजार र्याङकिङमा हुनुपर्ने प्रावधानलाई परिवर्तन गरी विश्वविद्यालय र कार्यक्रम दुवै एक हजार र्याङकिङ भित्र हुनुपर्ने बनाउन लागेको समाचारमा उल्लेख छ । त्रिविका प्राध्यापाक विनिल अर्यालको संयोजकत्वमा बनेको कार्यदलले दिएको सुझाब अनुसार मन्त्रालयले निर्देशिका संशोधन गर्न लागेको रातोपाटीमा समाचार छ । नेपालमा पढाई हुने विषयको पनि क्यूएए हुनु पर्ने, छात्रवृत्ति पारदर्शी हुनु पर्ने, विद्यार्थी भर्ना वर्षमा दुई पटक मात्रै गर्न पाउने र भौतिक पूर्वाधारको आधारमा विद्यार्थी भर्नाको कोटा तोक्नु पर्ने मन्त्रालयले सार्वजनिक गरेको कार्यदलको सुझावमा उल्लेख भएको समाचार छ । पूर्व मन्त्री सुमना श्रेष्ठले यही कामको लागि बनाएको कार्यदलको सुझावलाई वेवास्ता गर्दै विद्या भट्टराईले अर्को कार्यदल बनाएकी हुन् । तर दुबै कार्यदलले उस्तै सुझाव दिएको समाचारमा उल्लेख छ । मन्त्रालयको अनुमतिमा बिदेशी विश्वविद्यालयको सम्बन्धन लिएका ५९ वटा कलेज मध्ये ४८ कलेज टाईम्स हायर एजुकेशन वल्ड युनिभर्सिटी र्याङकिङमा एक हजार क्रमभन्दा पछाडी छन् । विदेशमा अध्ययनका लागि विदेशी मुद्रा बाहिरिएको राष्ट्र बैंकको तथ्याङ्क यो साता पनि समाचार बन्यो । (दुई साता पहिलेका मिडियामा आएका यस्तै समाचार र त्यसमा हाम्रो टिप्पणी कात्तिक ६ गतेको एडुखवरमा हेर्नुहोस्) त्यस्तै नेपालमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीले यस आर्थिक वर्षको दुई महिनामा करिब ४४ करोड ७३ लाख रुपैयाँ खर्च गरेको राष्ट्र बैंकको तथ्यांक रहेको समाचार छ । त्रिभुवन विश्वविद्यालयमा पछिल्लो पाँच वर्ष (२०७५–२०८०)मा २८ लाख ३३ हजार विद्यार्थी भर्ना हुँदा तीन लाख ७२ हजार दीक्षित भएको तथ्यांक रातोपाटी अनलाइनले प्रस्तुत गरेको छ । भर्ना भएका विद्यार्थीको तुलनामा १३ प्रतिशत मात्रै दीक्षित भएको तथ्याङ्क देखाउँदै हरेक वर्ष ५ लाख जति विद्यार्थी भर्ना हुँदा पास भने ६० देखि ७० हजारको हाराहारीमा हुने गरेको कुरा उक्त अनलाइनमा समाचार बनाइएको छ । नेकपा (एमाले) निकटको अनेरास्ववियुले पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै विद्यालय तहका पाठ्यपुस्तकमा रहेका त्रुटीप्रति केन्द्रको ध्यानाकर्षण गराएको समाचार छ । अर्को समाचार अनुसार नेपाल विश्वविद्यालयको औपचारिक रूपमा घोषणा गरिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा रिक्त रहेको उपकुलपतिका पदका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेएको अर्को समाचार छ । डडेल्धुराको परशुराम नगरपालिकाले प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई विना ब्याज ५ लाख रुपैयाँसम्म शैक्षिक ऋण दिने निर्णय गरेको समाचार छ । नगरपालिकाले एसईई भन्दा माथिल्लो तहका स्वाथ्य सहायक, ओभरसियर, स्टाफनर्स, इञ्जिनियरिङ, पाइलट, एमबिबिएस, कृषि, सूचना प्रविधि लगायत प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि शैक्षिक ऋण कार्यक्रम सञ्चालनमा ल्याएको सेटोपाटीमा समाचार छ । काठमाडौँ महानगरपालिका (कामपा)ले महानगरभित्र सञ्चालित छात्रावासलाई अनिवार्य रूपमा महानगरको शिक्षा विभागमा दर्ता हुन निर्देशन दिएको समाचारमा उल्लेख छ । विगतमा छात्रावास सञ्चालन गर्न जिल्ला शिक्षा कार्यालयबाट स्वीकृति लिई वडा कार्यालयमा दर्ता हुने गरेका थिए । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा परीक्षा निरीक्षकको लापरवाहीले अनुत्तीर्ण भएका एक छात्रलाई राष्ट्रिय परीक्षा बोर्डले उत्तीर्ण घोषित गरेको समाचार छ । खोटाङको केपिलासगढी गाउँपालिकाको थर्पुडाँडा माध्यमिक विद्यालयका छात्र शिवकुमार राईको उत्तर पुस्तिका निरीक्षकले नियतवस केरमेट गरेर अनुत्तीर्ण गराएको आरोप सहित ती छात्रका आफन्तले बोर्डमा उजुरी दिएका थिए । त्यस्तै ०५६ देखि यता कक्षा ११ र १२ को परीक्षामा सहभागि भएर अनुतिर्ण भएका, डी र ई ग्रेड प्राप्त गरेका र परीक्षमा अनुपस्थित भएका विद्यार्थीले मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको समाचार छ । मौका परीक्षा आउँदो वैशाखमा सञ्चालन हुने समाचारमा उल्लेख छ । विद्यालय तहका विद्यार्थीको आन्तरिक मूल्याङ्कन उनीहरूले घरमा गर्ने कामबाट हुने व्यवस्था गर्न लागिएको अर्को समाचार छ । पढाइलाई सिपसँग जोड्न तथा श्रमको सम्मान गर्न विद्यार्थीलाई प्रेरित गर्ने उद्देश्यले पाठ्यव्रmम विकास केन्द्रले विद्यार्थीले गर्ने घरायसी कामलाई आन्तरिक मूल्याङ्कन प्रणालीमा समावेश गर्न लागेको समाचारमा उल्लेख छ । सरसफाइ, भान्साको काम तथा खेतबारीमा गर्ने कामलाई यो मूल्याङ्कन प्रणालीसँग जोड्न लागिएको हो । असोज दोस्रो सातामा आएको बाढीपहिरोले विद्यालयमा क्षति प¥याएर पठनपाठनमा असर परेपछि नियमित रूपमा कक्षा सञ्चालन गर्न काभ्रेमा १३ वटा र सिन्धुपाल्चोकमा एउटा अस्थायी सिकाइ केन्द्र (टिएलसी) निर्माण गर्नुपर्ने समाचार छ ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल