आइतवार, कार्तिक ११ २०८१
काठमाडौँ–शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कानुन विपरीत चलेका मन्टेसरीको नाममा हुने मनलाग्दी रोक्न चासो देखाएको छ । शिक्षा मन्त्री विद्या भट्टराईले आफ्नो एक सय दिनको प्रगति विवरणमा मन्टेसरीको नाममा कानुन विपरीत चार वर्षसम्म चलाइने कक्षालाई नियमन कसरी गर्ने भनेर सुझाव कार्यदल गठन गरेको जानकारी दिइन । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५, राष्ट्रिय पाठ्यक्रम प्रारूप, शिक्षा नीति २०७६ मा मन्टेसरी (इसीडी) एक वर्षको मात्रै हुने व्यवस्था छ । निजी लगानीमा खुलेका संस्थाले मन्टेसरीको नाममा प्ले ग्रुप, नर्सरी, एलकेजी, युकेजी कक्षा चलाइरहेका छन् । निजीकै सिको गरेर सामुदायिक विद्यालयले पनि शुल्क लिएर चार वर्षसम्म कानुन विपरीत कक्षा चलाइरहेका छन् । शिक्षा मन्त्री भट्टराईले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयन गर्न भन्दै कार्य योजना बनाएकी थिइन । जुन कार्य योजनामा ऐनको दफा ६ मा भएको इसीडी कम्तीमा एक वर्षको मात्रै प्रावधान कार्यान्वयन गर्न मन्त्रीले बनाएको योजनाको खाकामा समेटिएको थिइन । एडुखबरले गरेको अध्ययनमा सरकारको कमजोरीको फाइदा उठाएर इसीडीको नाममा हरेक वर्ष कम्तीमा दुई लाख अभिभावकको १५ अर्ब रुपैयाँ लगानी बढेको तथ्य सार्वजनिक गरेको थियो । एक जना बच्चा पढाए बापत भनेर न्यूनतम पाँच हजार मात्रै लिँदा पनि १५ अर्ब रुपैयाँ आर्थिक दायित्व अभिभावकलाई थोपरिन्छ । सरकारले स्वीकृत गरेको निर्देशिका, प्रारूप, नीतिमा पाँच वर्ष लागेका नानीबाबु मात्रै इसीडीमा भर्ना गर्न सकिने प्रावधान छ । पाँच वर्ष भन्दा अघि एक वर्ष शिशु स्याहार केन्द्रका राख्न सकिने व्यवस्था छ । सरकार आफैले बनाएको कानुनी व्यवस्था पालना नगर्दा अभिभावकलाई आर्थिक दायित्व बढेको हो । एडुखबरले मन्टेसरीको मनपरी लेखेपछि शिक्षामन्त्री भट्टराईले इसीडी एक वर्ष बनाउने गरी काम गर्ने बताएकी थिइन । पढ्नुस्- इसीडी एक वर्ष बनाउने योजनामा शिक्षा मन्त्रीको साथ एक सय दिनको प्रगति विवरणको २२ नम्बरमा प्रारम्भिक बाल कक्षा (इसीडी) को समयावधि र निजी विद्यालयले लिने शुल्कलाई व्यवस्थित गर्न सुझाव कार्यदल गठन गरेको मन्त्री भट्टराईले जानकारी दिएकी हुन् । मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माको संयोजकत्वमा कार्यदल गठन गरेको हो । मन्त्रालयका प्रवक्ता लक्ष्मी भट्टराईका अनुसार गाउँपालिका र नगरपालिका महासंघको कार्यकारी निर्देशक, प्याब्सन, एन प्याब्सन, अभिभावक संघ, संगठन, शिक्षा विकास तथा समन्वय इकाई भक्तपुर, शिक्षक महासंघ, पाठ्यक्रम विकास केन्द्रका प्रतिनिधि रहने गरी कार्यदल गठन गरिएको हो । कार्यदलमा प्याब्सन, एन प्याब्सन, अभिभावक संघ संगठनबाट महिला प्रतिनिधि राखिएको छ । कार्यदलले एक महिना भित्र प्रतिवेदन दिनु पर्ने समय सीमा तोकिएको छ । ‘कार्यदलले इसीडी कति वर्षको बनाउने भन्ने सुझाव दिनेछ । त्यसको आधारमा कानुन कार्यान्वयनको प्रक्रियामा लैजान्छौ,’प्रवक्ता भट्टराईले भने । यो पनि कानुनले नचिनेको कक्षाका लागि अभिभावक माथि १५ अर्ब भार अनिवार्य शिक्षा ऐन विपरीत मण्टेसरीमा किताब स्वार्थ समूहको दबाबमा कानुन बन्धक नबनाइयोस्
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल