शुक्रवार, आषाढ ८ २०८१
काठमाडौँ - शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा विषय नपढेको भए पनि शिक्षक हुन पाउने गरी शिक्षक सेवा आयोग नियमावली संशोधनको प्रक्रिया अघि बढाएको छ । अहिलेको कानुन अनुसार सार्वजनिक विद्यालयको शिक्षक हुन शिक्षा संकाय अनिवार्य पढ्नु पर्ने हुन्छ । शिक्षा संकाय अध्ययन नगरेका व्यक्ति शिक्षक हुन सक्ने र सेवा प्रवेश गर्दा ६० दिनको तालिम दिने व्यवस्था राख्न लागेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले बताइन । त्यस्तै शिक्षा संकाय पढेकाले पनि ४५ दिनको सेवाकालीन तालिम लिनु पर्ने प्रावधान राख्ने गरी नियमावली संशोधन गर्न लागेको उनले बताइन । नियमावली संशोधन गरेर के राख्ने भन्ने मस्यौदा तयार गर्न सहसचिव केशव दाहालको संयोजकत्वमा समिति बनाएको थियो । आयोगका प्रतिनिधि समेत राखेर बनाईएको समितिले आफूलाई प्रतिवेदन बुझाइसकेको उनले बताइन । ‘आयोगसँग छलफल गरेर समितिले दिएको मस्यौदा अझ परिष्कृत गर्नु पर्नेछ’ मंगलबार आयोजित एक सय दिनको प्रगति विवरण सार्वजनिक कार्यक्रममा उनले भनिन् । समितिले मन्त्रीलाई बुझाएको मस्यौदा सुझावको लागि आयोगमा पठाईएको छ । विज्ञान, गणित, अंग्रेजी र कम्प्युटर साइन्समा पर्याप्त शिक्षक नभएकोले एजुकेसन नपढेका व्यक्तिलाई पनि शिक्षकमा प्रवेश पाउने गरी नियमावली संशोधन गर्न लागेको मन्त्री श्रेष्ठले बताइन् । ‘बीएड नगरेका शिक्षकलाई ६० दिनको अनिवार्य तालिम दिने र बीएड गरेकालाई ४५ दिनको तालिम लिए पछि मात्रै कक्षामा पठाउने नियमावली संशोधन गर्न लागेका छौ,’उनले भनिन् । प्राथमिक तहको शिक्षक हुन अहिले १२ कक्षा अध्ययन गरे हुने प्रावधान छ । नयाँ संशोधनमा १ देखि ८ सम्मको शिक्षक हुन कम्तीमा स्नातक पढेको हुनु पर्ने प्रावधान ल्याउन लागेको मन्त्री श्रेष्ठले बताइन् । ‘१२ कक्षा पढेको अहिले शिक्षक हुन पाउँछन् तर, उहाँहरू टिनएजर नै हुनुहुन्छ ’ उनले भनिन,‘उहाँहरूलाई भन्दा अब शिक्षकमा ब्याचलर र मास्टर्स गरेकालाई लिनु पर्छ ।’ स्नातक गरेकालाई लिँदा १ देखि ८ सम्म पढाउन सक्ने र मास्टर्स गरेकाले ९ देखि १२ सम्म नै पढाउन सक्ने उनले बताइन् । उनले भनिन,‘यही प्रावधान राखेर शिक्षक सेवा आयोग नियमावली संशोधनको अन्तिम चरणमा छ ।’
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल