बिहिवार, आश्विन ७ २०७८
सरकारले ४० वर्ष उमेर समूह माथिका सबै नागरिक ६५ लाख ३७ हजार ३ सय २९ जनाको पिसाब जाँच गर्ने भएको छ । देशका प्रत्येक वडा वडामा पुगेर पिसाब जाँच गर्ने तयारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. कृष्ण पौड्यालले जानकारी दिए । बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले मिर्गौला रोगबाट जोगाउन पूर्व सुरक्षाका लागि यो अभियान सुरु गर्न लागिएको बताए । ४० बर्ष माथिका देशभरका नागरिकको पिसाब जाँच गर्नका लागि प्रतिव्यक्ति ५० रूपैँयाको दरले ३२ करोड ६८ लाख ६६ हजार ४ सय ५० रुपैयाँ लाग्ने जानकारी दिए । उनले पूर्व रोकथाममा ध्यान नदिए मिर्गौला रोगी बढेर सरकारले धान्नै नसक्ने अवस्था आउने भन्दै सरकारले पूर्व सुरक्षाका लागि ध्यान दिएको जानकारी गराए । सरकारले यो आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा ४० वर्ष माथिका नागरिकको रक्तचाप, पिसाब तथा रगतमा ग्लुकोज जाँच, स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको वर्षमा एकपटक निःशुल्क जाँचको व्यवस्था गरेको थियो । सोही नीति कार्यान्वयन स्वरुप ४० वर्ष माथिका सबै नागरिकको पिसाब जाँच गर्न लागिएको हो । छलफलमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले प्रत्येक वर्ष ३ हजार जनाको मिर्गौला फेल हुने गरेको बताउँदै मिर्गौला फेल भएकाहरुलाई डायलासिस गर्न प्रयाप्त मेसिन नरहेको बताए । उनले प्रत्येक जिल्लामा डायलासिस सेन्टर र प्रत्येक प्रदेशमा मिर्गौला प्रत्यारोपण अस्पताल बनाउन आवश्यक रहेको बताए ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल