बिहिवार, आषाढ २४ २०७८
सरकारले चीनबाट खरिद गरेको कोरोना विरुद्धको खोप लिन नेपाल एयरलाइन्सको विमान आज चीन जाने भएको छ।
नेपाल वायुसेवा निगमका अनुसार खोप लिन त्रिभुवन विमानस्थलबाट दिउसो साढे ३ बजे विमान उड्ने कार्यतालिका रहेको छ। सरकारले चीनसँग ४० लाख डोज खोप खरिदका लागि नन् डिस्क्लोजर एग्रीमेन्ट गरेको छ। सोही अनुसार पहिलो चरणमा १० लाख डोज खोप आउने भएको हो। खोप लिन विमान चीनको राजधानी बेइजिङ जाने छ। बेइजिङबाट खोप लिएर विमान शुक्रबार बिहान काठमाडौं आइपुग्ने छ।
सरकारले चीनको भेरोसेल खोप खरिदका लागि गोप्य सम्झौता गरेको हो। गोप्य सम्झौता भएका कारण चीनबाट कति मूल्यमा कति डोज खोप खरिद गरिएको भन्ने विषय सरकारले खुलाएको छैन। मन्त्रिपरिषदको ३ असारमा बसेको बैठकले चार अर्ब ५० करोड रुपैयाँभन्दा नबढ्ने गरी खोप खरिद गर्ने निर्णय गरेको थियो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलका अनुसार चीनको बेइजिङस्थित सिनोफार्म कम्पनीसँग खोप खरिदका लागि भएको सम्झौताअनुसार २४ असारबाट आपूर्ति सुरु भई तत्पश्चात् साप्ताहिक रूपमा विभिन्न चरणमार्फत खोप आपूर्ति गर्ने तयारी भएको छ। चीन सरकारले नेपाललाई १८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल