शुक्रवार, आश्विन १६ २०८३
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट उत्तीर्ण विद्यार्थीले ट्रान्सक्रिप्ट तथा शैक्षिक प्रमाणपत्र लिन अझै पनि सास्ती खेप्नुपरेको छ। अनलाइनबाट आवेदन र राजस्व भुक्तानी गरे पनि महिनौँसम्म प्रमाणपत्र नपाउने समस्या देखिएको विद्यार्थीहरूको गुनासो छ।
विशेषगरी नाम, रजिस्ट्रेसन नम्बर, बाबुको नामलगायत विवरण सच्याउनुपर्ने विद्यार्थी बढी प्रभावित छन्। सम्बन्धित क्याम्पस र परीक्षा नियन्त्रण कार्यालय (पनिका) को त्रुटिका कारण विवरण संशोधन गर्नुपर्दा विद्यार्थीले पटक–पटक कार्यालय धाउनुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ।
जनप्रशासनमा स्नातकोत्तर उत्तीर्ण गरेका दीपक ऐरले आवश्यक प्रक्रिया पूरा गरी राजस्व बुझाएको नौ महिना बितिसक्दा पनि ट्रान्सक्रिप्ट पाएका छैनन्। उनले अघिल्लो वर्ष कात्तिक २९ गते ग्रेडसिटसहित पनिकामा भौचर बुझाएका थिए। तर कार्यालयले ‘बनेको छैन’ भन्दै पटक–पटक फर्काउने गरेको उनको गुनासो छ।
ऐरका अनुसार कार्यालय पुग्दा कहिले ‘टेक्निकल एरर’ त कहिले सफ्टवेयर निर्माता प्राविधिक बिदामा रहेको भन्दै समस्या समाधानमा ढिलाइ गरिएको थियो। पटक–पटक कार्यालय धाउँदा पनि फोन तथा सन्देशको जवाफ नपाएपछि बल्खुस्थित पनिका परिसरमै तनावको अवस्था सिर्जना भएको उनले बताए।
त्रिविले ट्रान्सक्रिप्टलगायत शैक्षिक प्रमाणपत्र वितरण सहज बनाउन अनलाइन प्रणाली सुरु गरे पनि विद्यार्थीले भने अनलाइन सेवाको पूर्ण सुविधा पाउन सकेका छैनन्। अनलाइनबाट भौचर भरेर राजस्व बुझाएपछि पनि भौचर डाउनलोड गरी पनिकामै पुगेर भौतिक रूपमा दर्ता गराउनुपर्ने अवस्था कायमै छ।
त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु सचिव हिक्मतकुमार बुढाका अनुसार विशेष परिस्थिति, मौका परीक्षा तथा ब्याक लागेका विषयमा आवश्यक निर्णय समयमै नहुँदा कतिपय विद्यार्थीको ट्रान्सक्रिप्ट लामो समयदेखि रोकिएको छ। पनिकाभित्रका प्राविधिक तथा प्रशासनिक समस्या समयमै समाधान नहुँदा दूरदराजबाट आउने विद्यार्थी थप समस्यामा पर्ने गरेको उनले बताए।
पनिकाका अनुसार वि.सं. २०५३ देखि २०७३ सम्मका मौका परीक्षामा सहभागी भएका केही विद्यार्थीका आवश्यक कागजात अपुग भएकाले पनि ट्रान्सक्रिप्ट रोकिएको छ। तत्कालीन समयमा परीक्षा सञ्चालन भए पनि आवश्यक कागजात तथा प्रक्रियामा समस्या देखिँदा अहिले ट्रान्सक्रिप्ट जारी गर्न कठिनाइ भएको कार्यालयको भनाइ छ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक सूर्यकान्त कलौनीले आवश्यक कागजात दुरुस्त भए ७ देखि १० दिनभित्र ट्रान्सक्रिप्ट उपलब्ध गराउन सकिने बताए। उनका अनुसार भर्नाका क्रममा सम्बन्धित क्याम्पसबाट आवश्यक प्रक्रिया पूरा नहुँदा कतिपय विद्यार्थीको विवरणमा समस्या देखिएको हो।
उनका अनुसार नियमसँग सम्बन्धित जटिल विषयमा प्राज्ञिक परिषद्बाट निर्णय गर्नुपर्ने हुन्छ। ट्रान्सक्रिप्ट उपलब्ध गराउन माग गर्दै हालसम्म झन्डै ३०० विद्यार्थीको निवेदन परेको पनिकाले जनाएको छ।
प्राज्ञिक परिषद् त्रिविको प्रमुख प्राज्ञिक निकाय हो। उपकुलपतिको अध्यक्षतामा गठन हुने परिषद्ले उपाधि, पाठ्यक्रम, परीक्षा, विद्यार्थी भर्ना तथा अनुसन्धानसम्बन्धी महत्वपूर्ण शैक्षिक निर्णय गर्ने अधिकार राख्छ। त्यसैले नियम तथा प्रक्रियासँग जोडिएका जटिल ट्रान्सक्रिप्टसम्बन्धी विषयको अन्तिम निकासका लागि परिषद्को निर्णय आवश्यक पर्ने त्रिविको भनाइ छ।
विद्यार्थीहरूले भने डिजिटल प्रणाली लागू गरिसकेको विश्वविद्यालयले प्रमाणपत्र वितरणमा समेत पूर्ण रूपमा प्रविधिमैत्री सेवा लागू गर्नुपर्ने र लामो समयदेखि रोकिएका ट्रान्सक्रिप्टको समस्या तत्काल समाधान गर्नुपर्ने माग गरेका छन्।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल