बिहिवार, आश्विन १ २०८३
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुमा तीन दिनदेखि धाउँदा पनि ट्रान्सक्रिप्ट नपाएपछि एक विद्यार्थी कार्यालयमै रोएकी छन्।
नेपाल बार काउन्सिलको प्रवेश परीक्षाको फाराम भर्न आवश्यक ट्रान्सक्रिप्ट निकाल्न ती विद्यार्थी तीन दिनदेखि परीक्षा नियन्त्रण कार्यालयको कानुन शाखा धाइरहेकी थिइन्। तर, कार्यालयका कर्मचारीले उनलाई विभिन्न झ्याल र कोठामा पठाउँदै आएका थिए।
बिहीबार अन्तिममा काम हुने भन्दै झ्याल नम्बर १० मा पठाइए पनि त्यहाँ फाइलसमेत नहेरी ‘यहाँबाट हुँदैन’ भन्ने जवाफ पाएपछि उनी निराश हुँदै कार्यालयमै रुन थालेकी हुन्।
दिउँसो करिब साढे १२ बजेतिरको उक्त घटनापछि वरपर रहेका सेवाग्राहीले उनलाई सम्हालेका थिए। कार्यालयमा विद्यार्थी रोएको र भीड जम्मा भएको देखिएपछि कर्मचारीहरूले तत्काल उनको काम गरिदिएका थिए।
नेपाल बार काउन्सिलको प्रवेश परीक्षाको फाराम भर्ने म्याद नजिकिँदै गएपछि त्रिवि परीक्षा नियन्त्रण कार्यालयको कानुन शाखामा विद्यार्थीको चाप बढेको छ। सीमित कर्मचारीका कारण सेवा प्रवाह सुस्त हुँदा ट्रान्सक्रिप्टलगायतका सेवा लिन आउने विद्यार्थीले सास्ती खेप्नुपरेको गुनासो बढेको छ।
सार्वजनिक सेवामा देखिँदै आएको ढिलासुस्ती र झन्झटिलो प्रक्रियाको पछिल्लो उदाहरणका रूपमा त्रिवि परीक्षा नियन्त्रण कार्यालयको यो घटनालाई लिन सकिन्छ। सेवा सहज बनाउने प्रतिबद्धता व्यक्त हुँदै आए पनि सेवाग्राहीले भने अझै विभिन्न झन्झट व्यहोर्नुपरेको अवस्था देखिएको छ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल