आइतवार, माघ २५ २०७७
शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्न परम्परागत शिक्षानीति र शिक्षकको गुणस्तरमा परिवर्तन गर्नुपर्ने बताएकाछन । शिक्षक सेवा आयोगको स्थापना दिवसको अवसरमा आयोग कार्यालयमा आयोजित कार्यक्रममा सो धारणा व्यक्त गर्नुभएको हो ।
शिक्षक सेवा आयोगले आयोजना गरेको ‘शिक्षक सेवा दिवस २०७७’ को उद्घाटन गर्दै उहाँ भन्नुहुन्छ, शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्न शिक्षकको गुणस्तरमा परिवर्तन गर्नुपर्ने आवश्यक रहेको छ। परम्परागत शिक्षा नीति, यहाँको अस्थिरता, अराजकता, अन्यौल र भ्रमको बादलभित्र सबै मडारिएको आफूले पाएकोले गुणस्तरीय शिक्षक उत्पादन गर्ने मुल दायित्व आयोगको रहेको र आयोगमा सक्षम कर्मचारी आवश्यक रहेको बताउनुभएको छ ।
अहिलेको अवस्थामा शिक्षा क्षेत्रको सुधार गर्नु महत्वपुर्ण रहेको छ, त्यसको लागि आयोगले मुख्य भुमिका खेल्नुपर्छ । कहीँ शिक्षकभन्दा विद्यार्थी बढी र कहीँ शिक्षक नै नपुग्ने असमानतालाई चिर्दै उहाँले यसलाई आमूल परिवर्तन गर्ने विधि पहिल्याउनु आवश्यक रहेको बताउनुभयो ।
मन्त्री श्रेष्ठले भन्नुभयो, “मन्त्रालयमा अस्थायी, करार, उमेर नाघेका, राहत, इसिडी, स्वयंसेवक शिक्षकको समस्या त छदैछ, फेरी अहिले द्वन्द्व पीडित शिक्षकको समस्या थपिएको छ, यी सबै समस्याको एक मुष्ठ हल खोज्नुपर्छ ।” उहाले आयोगलाई प्रविधिमैत्री बनाउन जोड दिनुपर्ने, आफ्नो भवन निर्माण गरिनुपर्ने र आयोगलाई थप प्रविधिमैत्री बनाउनुपर्ने बताउनुभयो ।
आफुले शिक्षा मन्त्रालय सम्हालेको धेरै समय नभएकाले धेरै कुरा बुझ्न अझै बाँकी भएको बताउँदै उहाँले भन्नुभयो, “मैले पोखरीमा पौडिन भ्याएकै छैन, शिक्षा मन्त्रालयमा आएदेखि काँडाको झ्याङ्मा बसे जस्तो भएको छ, यता फर्के कोतर्छ, उता फर्के घोच्छ, भुँईमा टके टासिन्छ, यहाँ भित्रका समस्यालाई सबै मिलेर हल गर्नुपर्छ ।”
आफ्ना शिक्षकलाई बिर्सने र सम्मान गर्न नसक्ने विद्यार्थीले मुलुक सम्हाल्न नसक्ने टिप्पणी गर्दैै उहाँले शिक्षकबाटै विद्यार्थीले अनुशासन सिक्ने बताउनुभयो । शिक्षक जिउँदो भगवान हुन् भन्दै मन्त्री श्रेष्ठले भन्नुभयो, “एउटा शिक्षक जीवनभर शिक्षण पेशामा लाग्छ, उसका विद्यार्थी धेरै माथिल्लो पद र प्रतिष्ठामा पुग्छन्, तर शिक्षक जहाँको त्यहीँ रहन्छ, कतिपय शिक्षकसंग मर्ने बेलामा कात्रो किन्ने पैसा पनि नहुदो रैछ, शिक्षकको पीडालाई मैले बुझेको छु ।”
शिक्षक सेवा आयोग, राष्ट्रिय परीक्षा बोर्ड, चिकित्सा शिक्षा आयोगलगायतले भवन अपुग रहेको भन्दै जग्गा मागेकाले त्यसको हल पनि मन्त्रालयले गर्ने उहाँको भनाइ थियो । शिक्षक सेवा आयोगको रिक्त पदाधिकारी छिट्टै नियुक्ती गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनाली शिक्षण पेशालाई जीवनको पहिलो रोजाइ बनाउनु पर्नेमा जोड दिनुभयो । आयोगले लिने लिखित परीक्षाले मात्रै नपुग्ने भन्दै उहाँले कक्षामा दिने प्रस्तुती महत्वपूर्ण हु्ने औल्याउनुभयो । शिक्षक परीक्षाको पाठ्यक्रम र प्रयोगात्मक परीक्षण प्रणाली परिवर्तन गर्नु आवश्यक रहेको बताउनुभयो । शिक्षकको तालिम, सेवा, बृद्धि विकास आवश्यक रहेको भन्दै आयोगको ऐन परिवर्तन गर्दै स्वायत्तता दिनु पर्ने मैनालीले बताउनुभयो । उहाले आयोगका कर्मचारीहरु प्रविधिमैत्री हुनुपर्नेमा जोड दिनुभयो । उहाले शिक्षकलाई सक्षम बनाउन वृति विकास आवश्यक रहेको औल्याउदै त्यसको लागि अवसरको ढोका खोल्नुपर्ने उल्लेख गर्नुभयो । उहाले आयोगमा पाठ्यक्रम र दरबन्दीको तालमेल आवश्यक रहेको उल्लेख गर्नुभयो ।
त्यसअवसरमा शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले आयोगलाई स्वतन्त्र निकायको रुपमा स्वायत्तता प्रदान गर्नुपर्ने बताउदै ४० जना जनशक्तिका भरमा ५८ हजारभन्दा बढी शिक्षकलाई स्थायी गरेको बताउनुभयो । उहाँले आयोगमा जनशक्ति थप गर्नुपर्ने, आफ्नै भवन बनाउनु पर्ने आवश्यकता रहेको चर्चा गर्दै शिक्षक सेवा आयोगको परीक्षामा उतीर्ण संख्या कम हु्नु चिन्ताको विषय रहेको बताउनुभयो ।
शिक्षक सेवा आयोगका पूर्वअध्यक्ष ताना गौतमले शिक्षा मन्त्रालयले आयोगलाई स्वतन्त्र रुपमा काम गर्ने वातावरण बनाउनुपर्छ भन्दै आयोगलाई स्वायत्त बनाउनुपर्नेमा जोड दिनुभयो । विद्यालयको शिक्षा कमजोर तर लोकसेवा आयोगको परीक्षा प्रणाली कडा भएका कारण शिक्षकको परीक्षामा कतिपय सक्षम व्यक्ति आउन नसकेको बताउदै उहाँले शिक्षकमा राम्रा र दक्ष मान्छे ल्याउन सके मात्रै गर्व गर्ने ठाउँ रहने उल्लेख गर्नुभयो ।
शिक्षक सेवा आयोगका पूर्वअध्यक्ष ताना गौतमले शिक्षा मन्त्रालयले आयोगलाई स्वतन्त्र रुपमा काम गर्ने वातावरण बनाउनु पर्छ भन्दै आयोगलाई स्वायत्त बनाउनु पर्नेमा जोड दिनुभयो ।
आयोगका कामु प्रशासकीय प्रमुख दिनेशकुमार श्रेष्ठले आयोगको विगत, वर्तमान र भावी योजना एवं चुनौतीबारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यक्रममा पूर्वअध्यक्ष गौतमलाई सम्मान गरिएको थियो ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल