शुक्रवार, आश्विन २ २०८३
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को साधारणसभा (सिनेट) बैठकको मिति अझै तय हुन नसक्दा विश्वविद्यालयको वार्षिक बजेट पारित गर्ने तथा दीक्षान्त समारोहका लागि ग्रेस लिस्ट स्वीकृत गर्ने लगायतका महत्वपूर्ण काम प्रभावित भएका छन् ।
त्रिविका उपकुलपति प्रा.डा. भोला थापाले विश्वविद्यालयको आन्तरिक बजेट निर्माणसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको र छिट्टै सिनेट बैठकबाट बजेट पारित गरिने बताएका छन् ।
नवनियुक्त पदाधिकारीहरूले पदभार ग्रहण गरेसँगै बजेट निर्माणसम्बन्धी आवश्यक आन्तरिक गृहकार्य सम्पन्न गरी तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।
विश्वविद्यालयलाई नियमानुसार सञ्चालन गर्न तथा बजेट स्वीकृतिका लागि सिनेट बैठक आवश्यक हुने भएकाले बैठक बस्नेबित्तिकै बजेट पारित गर्ने प्रक्रिया अघि बढाइने उपकुलपति थापाको भनाइ छ ।
उनका अनुसार बजेट स्वीकृतिको प्रक्रिया जतिसक्दो छिटो अघि बढाउँदा लेखा शाखालाई काम गर्न सहज हुनुका साथै थप बेरुजु आउने जोखिमसमेत कम हुन्छ ।
उपकुलपति थापाले सिनेट बैठकको निश्चित मिति भने तय भइनसकेको बताए । विश्वविद्यालयको सञ्चालन तथा प्रशासनिक काममा कुनै किसिमको अप्ठ्यारो नपर्ने गरी यथाशीघ्र बजेट स्वीकृत गर्ने प्रक्रिया पूरा गरिने उनको भनाइ छ ।
त्रिभुवन विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने संवैधानिक/कानुनी व्यवस्थाअनुसार सिनेट बैठक विश्वविद्यालयको सर्वोच्च निकायका रूपमा महत्वपूर्ण निर्णय गर्ने थलो हो ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल