बिहिवार, आश्विन १ २०८३
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले विश्वविद्यालय सेवा आयोगमा दुई वर्षदेखि रोकिएका करिब २ हजार अन्तर्वार्ता अघि बढिरहेको बताएका छन्।
त्रिवि एलुम्नाई एसोसिएसनले बुधबार आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै उपकुलपति थापाले सेवा आयोगका अध्यक्ष र सदस्यले समानान्तर रूपमा अन्तर्वार्ता लिन सक्ने वातावरण तयार गरिएको जानकारी दिए।
उनका अनुसार रोकिएका अन्तर्वार्ता छिटो सम्पन्न गर्न सेवा आयोगको कार्यविधिसमेत परिमार्जन गरिएको छ।
उपकुलपति थापाले अबको शिक्षा साक्षरतामा मात्र सीमित नभई गुणस्तरीय, प्रतिस्पर्धी र समयसापेक्ष हुनुपर्नेमा जोड दिए। शिक्षक तथा कर्मचारीलाई कृत्रिम बौद्धिकता (एआई) को अधिकतम प्रयोगसम्बन्धी छोटो अवधिको तालिम दिने योजना रहेको उनले बताए।
त्रिविलाई नवप्रवर्तन, अनुसन्धान र प्रविधिको क्षेत्रमा अब्बल बनाउँदै समयानुकूल सुधार गरिने उनको भनाइ थियो। दक्ष र अनुभवी जनशक्ति त्रिविसँग रहेकाले देशकै जेठो विश्वविद्यालयका रूपमा राष्ट्रियस्तरमा नवप्रवर्तनको नेतृत्व लिनुपर्ने उनले बताए।
विश्वविद्यालयको वर्तमान चुनौती र वित्तीय अवस्थाबारे चर्चा गर्दै थापाले स्वीकृत दरबन्दीको करिब ५० प्रतिशत शिक्षक तथा कर्मचारीबाट मात्रै विश्वविद्यालयको काम सञ्चालन भइरहेको बताए।
भौतिक संरचना र जनशक्तिको सीमितताका बाबजुद पनि विद्यार्थीको पहिलो रोजाइ त्रिभुवन विश्वविद्यालय नै रहेको उल्लेख गर्दै उनले त्रिविको कुल बजेटको ५२ प्रतिशत हिस्सा आन्तरिक स्रोतबाट जुटिरहेको जानकारी दिए। बाँकी ४८ प्रतिशत रकम सरकार तथा अनुदानमा निर्भर रहेको उनले बताए।
त्रिविको भौतिक सम्पत्तिको समुचित उपयोग गर्दै विश्वविद्यालयलाई आर्थिक रूपमा स्वावलम्बी बनाउनुपर्नेमा पनि उनले जोड दिए।
भावी रणनीतिबारे बोल्दै उपकुलपति थापाले त्रिविलाई विकेन्द्रीकरण, स्वायत्तता र प्रादेशिक ढाँचामा लैजाने योजना अघि बढाइएको जानकारी दिए।
परीक्षा प्रणालीलाई पारदर्शी र गुणस्तरीय बनाउन केही अधिकार डिन कार्यालयहरूलाई प्रत्यायोजन गरिएको उनले बताए।
साथै अन्तर्राष्ट्रिय र्याङ्किङमा शीर्ष १ हजारभित्रको स्थान कायम राख्दै विश्व सञ्जालमा त्रिविको उपस्थिति थप मजबुत बनाउने लक्ष्य रहेको उनले बताए। शिक्षक तथा कर्मचारीका लागि एआईसम्बन्धी तालिम सञ्चालन गर्ने योजना पनि अघि सारिएको उनको भनाइ छ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल