सोमवार, भाद्र २९ २०८३
काठमाडौँ । सरकारले मधेस प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) को नयाँ आङ्गिक क्याम्पस स्थापना गर्ने तयारी अघि बढाएको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेस प्रदेशमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्दै इन्जिनियरिङ अध्ययनका लागि विद्यार्थी अन्य प्रदेशमा जानुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले नयाँ क्याम्पस स्थापनाको तयारी भइरहेको जानकारी दिएका छन्।
मधेस प्रदेशबाट हरेक वर्ष ठूलो सङ्ख्यामा विद्यार्थी इन्जिनियरिङ अध्ययनका लागि काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा जाने गरेका छन्। प्रदेशमै इन्जिनियरिङ शिक्षाको अवसर नहुँदा विद्यार्थी तथा अभिभावकले अतिरिक्त आर्थिक भार व्यहोर्नुका साथै बसाइँ, आवतजावतलगायतका व्यावहारिक समस्या झेल्दै आएका छन्।
मन्त्री पोखरेलका अनुसार क्याम्पस स्थापनाका लागि उपयुक्त स्थान पहिचान गर्ने प्रक्रिया अघि बढाइएको छ। स्थान छनोटका लागि विशेष अध्ययन समिति गठन गरिने र समितिले दिने प्रतिवेदनका आधारमा क्याम्पस स्थापना गर्ने ठाउँ टुंगो लगाइनेछ।
क्याम्पस निर्माण तथा सञ्चालनको निश्चित समयसीमा तय भइनसके पनि आगामी तीन वर्षभित्र पठनपाठन सुरु गर्ने लक्ष्यसहित आवश्यक तयारी भइरहेको मन्त्री पोखरेलले बताएका छन्।
सरकारले प्रस्तावित क्याम्पसलाई केवल परम्परागत इन्जिनियरिङ शिक्षामा सीमित नराखी अनुसन्धान तथा नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्ने योजना बनाएको छ। आधुनिक प्रविधि, वैज्ञानिक अनुसन्धान, आविष्कार र व्यावहारिक प्रयोगलाई प्राथमिकतामा राखेर क्याम्पस सञ्चालन गर्ने तयारी छ।
मधेसमा आइओईको क्याम्पस स्थापना भएपछि यस क्षेत्रका विद्यार्थीले आफ्नै प्रदेशमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा हासिल गर्ने अवसर पाउने सरकारको अपेक्षा छ। साथै, स्थानीय आवश्यकता सम्बोधन गर्ने अनुसन्धान, प्रविधि विकास र नवप्रवर्तनका गतिविधि बढ्ने विश्वास गरिएको छ।
हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानका आङ्गिक क्याम्पस पुल्चोक, थापाथली, धरान, चितवन र पोखरामा सञ्चालनमा छन्। मधेस प्रदेशमा नयाँ क्याम्पस स्थापना भएमा देशमा इन्जिनियरिङ शिक्षाको भौगोलिक पहुँच थप विस्तार हुनेछ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल