Oct 29 2026 | २०८३, कार्तिक १३गते

एआई र डिजिटल सञ्चारबारे अध्ययन गर्न त्रिविका विद्यार्थीको चीन भ्रमण

एआई र डिजिटल सञ्चारबारे अध्ययन गर्न त्रिविका विद्यार्थीको चीन भ्रमण

  • 358
    SHARES

  • एआई र डिजिटल सञ्चारबारे अध्ययन गर्न त्रिविका विद्यार्थीको चीन भ्रमण

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका विद्यार्थीले चीनको सिचुआन प्रान्तमा एआई तथा डिजिटल सञ्चारसम्बन्धी साताव्यापी प्रशिक्षण तथा अध्ययन भ्रमण सम्पन्न गरेका छन्।

    युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एन्ड टेक्नोलोजी अफ चाइना (युइएसटिसी) सँगको शैक्षिक सहकार्यमा आयोजित कार्यक्रममा सहभागी विद्यार्थीले समाचार कक्षमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग, मानव–मेसिन सहकार्य, डिजिटल सामग्री उत्पादन, दृश्य कथा वाचन तथा मिथ्या र भ्रामक सूचना व्यवस्थापनबारे सैद्धान्तिक तथा व्यावहारिक ज्ञान हासिल गरेका थिए।

    अध्ययन भ्रमणका क्रममा नेपाली विद्यार्थीले सिचुआन न्यूजनेट ग्रुप, सिचुआन टिभी, छेङ्दु राष्ट्रिय सुपर कम्प्युटिङ केन्द्र, एआईजिसी कार्यशाला, भर्चुअल उत्पादन स्टुडियो र रोबोट पार्क लगायतका प्रविधि तथा सञ्चारसम्बन्धी संस्थाको अवलोकन गरेका थिए।

    कार्यक्रममा त्रिभुवन विश्वविद्यालयसँगै पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयका विद्यार्थी सहभागी थिए। त्रिविबाट सात जना, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयबाट दुई–दुई जना तथा काठमाडौँ विश्वविद्यालयबाट एक जना सहभागी भएका थिए।

    नेपाली टोलीको नेतृत्व त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका उपप्राध्यापक डा. ऋषिकेश दाहालले गरेका थिए। उनका अनुसार यस्ता शैक्षिक आदानप्रदान कार्यक्रमले नेपाली विद्यार्थीलाई सञ्चार क्षेत्रमा भइरहेको प्रविधिगत परिवर्तन र एआईको प्रयोगबारे प्रत्यक्ष रूपमा बुझ्ने अवसर प्रदान गर्छ।

    युइएसटिसी र त्रिविबीच सञ्चालन हुँदै आएको चीन–नेपाल युवा शैक्षिक आदानप्रदान कार्यक्रमको यो दोस्रो वर्ष हो। युइएसटिसीका प्राध्यापक चाङ स्युनले नेपाल–चीन सम्बन्धलाई सरकार–सरकारको तहमा मात्र सीमित नराखी जनस्तर र प्राज्ञिक क्षेत्रसम्म विस्तार गर्न यस्ता गतिविधिले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले आगामी दिनमा पनि शैक्षिक सहकार्यलाई निरन्तरता दिने बताए।

    भ्रमणमा त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका अनुषा काफ्ले, दीक्षा राई, मोनिका वाइबा, लक्ष्मण गिरी र प्रियङ्का सुनारलगायत विद्यार्थी सहभागी थिए।

    केन्द्रीय विभागका प्रमुख प्रा. डा. कुन्दन अर्यालले युइएसटिसीसँगको सहकार्य निरन्तर अघि बढिरहेकाले आगामी वर्षमा थप विद्यार्थीले यस्ता अन्तर्राष्ट्रिय अध्ययन तथा प्रशिक्षणको अवसर प्राप्त गर्ने बताए। उनका अनुसार नेपाल–चीनबीचको प्राज्ञिक सहकार्यले सञ्चार शिक्षा र प्रविधिको क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्नेछ।

    images
    सोमवार, भाद्र २९ २०८३०६:२५:३७

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल